इजिप्टमा सरकार विरोधी विपक्षीहरुद्धारा राष्ट्रपति मुर्र्सीलाई राजीनामा दिन अल्टिमेटम

इजिप्टमा सरकार विरोधी प्रदर्शनमा उत्रिएकाहरुले राष्ट्रपति मोहम्मद मुर्र्सीलाई भोलिसम्म राजीनामा दिन अल्टिमेटम दिएका छन् । विपक्षीहरुको तामारुद विद्रोही समूहको नाममा जारी विज्ञप्तिमा मुर्सीले राजीनामा दिएर निर्वाचन हुन नदिए नागरिक अवज्ञाको सामना गर्नु पर्ने उल्लेख भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


यो समूहले मुर्सीको विरुद्ध २ करोड २० लाखको हस्ताक्षर संकलन गरेका दाबी गरेको छ । प्रदर्शनकारीहरुले राजधानी कायरोस्थित सत्तारुढ मुश्लिम ब्रदरहुडको मूख्यालयमा आज पनि धावा बोलेका छन् । इजिप्टमा सरकार विरोधी प्रदर्शनका क्रममा हिंसा भड्किंदा कम्तिमा पाँच जना मृत्यु भैसकेको छ ।


मुश्लिम ब्रदरहुडको मुख्यालय बाहिर भएको झडपमा एक जनाको मृत्यु भएको हो भने अन्य चार जनाको विभिन्न शहरमा भएका झडपमा मृत्यु भएको बीबीसीले जनाएको छ । झडपका क्रममा सयौं घाईते भएका छन् ।


प्रदर्शनकारीहरु कायरोको ताहरिर स्क्वायर र राष्ट्रपति भवन बाहिर जम्मा भई प्रदर्शनमा उत्रिएका थिए । लाखौं प्रदर्शनकारीले एक वर्षअघि सत्ता सम्हाल्न पुगेका मुलुकको पहिलो इस्लामिक राष्ट्रपति मुर्सीले मुलुकको बिगद्रो आर्थिक अवस्था सुदृढ गर्न नसकेको र सुरक्षा समस्या पनि हल गर्न नसकेको आरोप लगाएका छन् ।


ताहरिर स्वायरमा आइतवार भएको प्रदर्शन होस्नी मुबारको शासन अन्त्यका लागि सन् २०११ मा भएको विशाल प्रदर्शनको झल्को दिने खालको रहेको समाचारमा जनाइएको छ । राष्ट्रपतिका प्रवक्ताले प्रदर्शनकारीलाई प्रजातान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेका छन् ।


यता, राष्ट्रपति मुर्सीका समर्थक पनि कायरो नजिकको शहरमा प्रदर्शनमा उत्रिएका थिए ।

 

Agencies