नयाँदिल्ली। भारतको उत्तराखण्ड राज्यका मूख्यमन्त्री विजय बहुगुणाले उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा हालै आएको बाढी, पहिरोमा परी हराइरहेका ३ हजार मानिसको अवस्था सम्भवतः कहिल्यै पत्ता लाग्न नसक्ने बताएका छन् ।
भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डियासँग कुरा गर्दै मूख्यमन्त्री बहुगुणाले बाढीले बगाएका मानिसको यकिन तथ्यांक कहिल्यै पत्ता लाग्न नसक्ने बताएका हुन् ।
बाढी, पहिरोमा परी ८ सय भन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक तथ्यांक मात्रै सार्वजनिक हुन सकेको छ । अझै पनि सयौं मानिस बद्रीनाथ क्षेत्रमा फसिरहेको समाचारमा जनाइएको छ । बाढी प्रभावित क्षेत्रबाट १ लाख भन्दा बढी मानिसलाई उद्धार गरिसकिएको छ ।
यसैबीच, भारत सरकारले अनौपचारिक रुपमा प्रभावित क्षेत्रमा बचाऊ कार्य समाप्त भएको र हराईरहेकाहरुको खोजीका लागि एक अभियान सञ्चालन गर्ने जनाएको छ ।
विनाशकारी बाढी पहिरोका उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा करिब ५ लाख मानिस प्रत्यक्ष प्रभावित भएको र ४२ सय गाउँ पूरै ध्वस्त भएको अनुमान गरिएको छ ।
Agencies