इजिप्टमा प्रदर्शनकारीले राजीनामा दिन दिएको ४८ घण्टा अल्टिमेटम राष्ट्रपति मुर्सीद्धारा खारेज

इजिप्ट । इजिप्टमा सरकार विरोधी प्रदर्शन बढ्दै जाँदा सेना सक्रिय हुने संकेत देखिन थालेको छ । सडकमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपति मोहम्मद मुर्सीलाई आजसम्म राजीनामा दिन अल्टिमेटम दिएलगत्तै सेना प्रमुखले पनि ४८ घण्टाभित्र इजिप्टको समस्या समाधान गर्न दलका नेताहरुलाई अपील गरेका छन् । राष्ट्रपति मोहम्मद मुर्र्सीले खारेज गर्दै यसलाई अस्वीकार गरेका छन।

 

यो समयभित्र वर्तमान नेतृत्वले समाधान दिन नसके देशको सबै अधिकार आफ्नो हातमा लिने चेतावनी सेनाले दिएको छ ।

देशको नाममा सम्बोधन गर्दै सेना प्रमुख जनरल आब्देल फत्ताह अल सीसीले जनताको आवाज सुन्न र तिनका माग पूरा गर्न नेताहरुसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति मुर्सीसँग अब जनताले माग गरेबमोजिम राष्ट्रपति चुनाव गराउनुको विकल्प नभएको एक जना पूर्व सैनिक जनरलले पनि भनेका छन् ।


सेनाले दिएको यो चेतावनीलाई सैनिक कू का रुपमा हेर्न नमिल्ने पनि बताइएको छ । विपक्षीहरुको तामारुद समुहले भने मुर्सीविरुद्ध २ करोड २० लाख हस्ताक्षर संकलन गरेका दावी गरेको छ । प्रदर्शनकारीहरुले राजधानी कायरोस्थित सत्तारुढ मुश्लिम ब्रदरहुडको मुख्यालयमै धावा बोलेका छन् । इजिप्टमा सरकार विरोधी प्रदर्शनका क्रममा हिंसा भड्किंदा कम्तिमा आठ जना मारिएको खबर छ ।


 झडपका क्रममा सयौं घाईते भएका छन् । प्रदर्शनकारी कायरोको ताहरिर स्क्वायर र राष्ट्रपति भवन बाहिर जम्मा भई प्रदर्शनमा उत्रिएका हुन् । लाखौं प्रदर्शनकारीले एक वर्षअघि सत्ता सम्हाल्न पुगेका मुलुकको पहिलो इस्लामिक राष्ट्रपति मुर्सीले मुलुकको बिगद्रो आर्थिक अबस्था सुदृढ गर्न नसकेको र सुरक्षा समस्या पनि हल गर्न नसकेको आरोप लगाएका छन् । ताहरिर स्वायरमा आइतवार भएको प्रदर्शन होस्नी मुबारको शासन अन्त्यका लागि सन् २०११ मा भएको विशाल प्रदर्शनको झल्को दिने खालको रहेको समाचारमा जनाइएको छ ।

 

Agencies