दक्षिण कोरिया र उत्तर कोरियाबीच केसङ संयुक्त औद्योगिक कम्प्लेक्स सञ्चालनका विषयमा वार्ता भएको छ । दुई मुलुकका अधिकारीहरुबीच गैरसैन्य क्षेत्र नजिकको गाउँ पानमुन्जोनमा वार्ता भएको दक्षिण कोरियाका अधिकारीहरुले जनाएका छन् ।
दक्षिण कोरियाको वार्ता प्रस्तावलाई उत्तर कोरियाले स्वीकार गरेपछि आजको वार्ता सम्भव भएको बीबीसीले जनाएको छ । गत महिनामा यही विषयलाई लिएर दुई मुलुकबीच हुन लागेको मन्त्रिस्तरीय वार्ता प्रतिनिधिमण्डलको विषयमा विवाद भएपछि स्थगित भएको थियो ।
उत्तर कोरियाको तेस्रो आणविक परीक्षणपछि कोरियाली प्रायद्धीपमा बढेको तनावकाबीच गत अप्रिलमा यो संयुक्त आद्योगिक क्षेत्र बन्द भएको थियो । उत्तर कोरियाली भूमिमा रहेको यो औद्योगिक क्षेत्र ५३ हजार उत्तर कोरियाली कामदारका लागि विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत रहँदै आएको थियो ।