इजिप्ट । इजिप्टमा मोहम्मद अल बारादेईलाई उपराष्ट्रपति बनाइएको छ । उदारवादी नेता मानिने बारादेई यसअघि राष्ट्रसंघका लागि अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीका प्रमुख भइसकेका छन् । बरादेईलाई विदेश मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । यसैगरी अन्तरिम राष्ट्रपति अदली मन्सूरले पूर्व अर्थ मन्त्री हाजिम अल बेब्लावीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
नियुक्तिलगत्तै बेब्लावीले एक अस्थायी संविधान जारी गर्दै आउँदो वर्षको शुरुवातसँगै सत्ता हस्तान्तरणका लागि निर्वाचनको प्रक्रिया थालिने घोषणा गर्नुभयो । यता सरकारले गरेको निर्वाचनको घोषणाको सबैजसो विपक्षीले विरोध गरेका छन् ।
सेनाको कदमप्रति नरम ठानिएको मूख्य विपक्षी गठबन्धन नेशनल साल्भासन फ्रन्टले चुनावका लागि सरकारले जारी गरेको मस्यौदामाथि अझ बढी छलफल र परिवर्तन हुनुपर्ने माग गरेको छ । यसअघि मुर्सीको दल र अर्को गठबन्धनले पनि सरकारको यस कदम अस्वीकार्य रहेको जनाइसकेको छ ।
यता सेनाले शान्ति व्यवस्था बिग्रेकोमा चेतावनी दिएको छ । देश परिवर्तनको अफ्ठ्यारो अवस्थामा रहेकाले कसैलाई पनि बाधा उत्पन्न गर्ने छूट नरहेको भन्दै रक्षा मन्त्रीले चेतावनी दिएका हुन् ।