उच्चस्तरीय समितिद्धारा चुनाव बहिष्कार गर्ने निर्णय गरेको असन्तुष्ट नेकपा-माओवादीलाई औपचारिक वार्ताको निम्ति आग्रह

सरकार पक्षीय पार्टीहरुले असन्तुष्ट नेकपा-माओवादीलाई वार्ताको समय र ठाउँबारे निर्णय दिन आग्रह गरेका छन्।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलका अनुसार उक्त दलको जवाफपछि द्वीपक्षीय सहमतिमा औपचारिक वार्ताको तिथि-मिति निश्चित हुनेछ।


तर आफ्ना पूर्वअडानबारे सरकार पक्षीय दल लचिलो नभएकाले वार्ताको टुंगो लाग्न नसकिरहेको नेकपा-माओवादीले जनाएको छ।

शनिवार साँझ भएको उच्चस्तरीय राजनीतिक समितिको बैठकले असन्तुष्ट माओवादीलाई औपचारिक वार्तामा बोलाउने निर्णय गरेको थियो।

 

कांग्रेस उपसभापति पौडेलले वार्ताको मिति तोक्न उक्त दलको जवाफ पर्खिरहेको बताए।


उनले भने, “मोहन वैद्यजीले आइतवार विहानसम्म वार्ताको मिति र स्थानबारे निर्णय गरेर खबर गर्छौं भन्नु भा’छ, उहाँहरुको जवाफपछि आपसी सहमतिमा वार्ताको ठेगान लगाउँछौं।”


चुनाव बहिष्कार गर्ने निर्णय गरेको नेकपा-माओवादीको एउटा मुख्य माग, गोलमेच सम्मेलन, गर्न सकिने उच्च समितिको हालैको निर्णयले टाढिंदै गएका दुई पक्षलाई नजिक ल्याए जस्तो देखिएको थियो।

समितिको निर्णयको जवाफमा उक्त दलले आफ्नो मूल नेतृत्व सम्मिलित वार्ता टोली गठन गर्‍यो।

 

तर सरकार पक्षीय दलहरुको शर्तका कारण वार्ताको टुंगो लाग्न नसकिरहेको नेकपा-माओवादीको भनाइ छ।

 

उक्त दलका सचिव देव गुरुङ्ले भने, “बिना शर्त वार्ता गर्न तयार नभएसम्म र वार्तामा आन्दोलनरत ३३ वटै पार्टीलाई सहभागि नगराएसम्म हामी वार्तामा बस्दैनौं, त्यसबारे उहाँहरुले जवाफ नदिएकाले नै वार्ता हुन सकिरहेको छैन।”


उच्च समितिले चुनाव स्थगित गर्ने र सरकार फेर्ने बाहेक नेकपा-माओवादीका अन्य मागहरुमा लचिलो हुन सकिने निर्णय गरेको थियो।


त्यस लगत्तै असन्तुष्ट माओवादीले वार्ता टोली घोषणा गर्दा चुनाव बहिष्कारको योजना पनि सार्वजनिक गर्‍यो।


उक्त दलसँग औपचारिक वार्ताको पहल गर्ने नयाँ निर्णय गर्दा उच्च राजनीतिक समितिले पनि चुनावी तयारीलाई तीव्रता दिन सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

 

RSS, BBC NEPALI