अब्दुल्लाह मियाँ
काठमाडौ – नेता तानातानमा व्यस्त मधेसी दलहरू अब एकीकरण र चुनावी मोर्चाबन्दीको गृहकार्यमा लागेका छन् । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री सलमान खुर्सिद र मधेसी दलका नेताहरूबीच गत मंगलबार भएको छलफलले पनि एकीकरण वा मोर्चाबन्दीका लागि तयार हुन थप सहयोग पुर्याएको हो ।
लामो समयदेखि एउटै टेबुलमा नबसेका मधेसवादी दलका नेताहरूलाई खुर्सिदले एउटै कोठामा राखेर गरेको छलफलपछि उनीहरूमा समेत एकताको आस पलाएको छ । एक्लै भेटेर छलफल गर्ने उद्देश्य लिएर गएका नेतालाई पनि खुर्सिदले एकठाउँमै बस्न बाध्य बनाएका थिए ।
उनले मधेसी दलहरूको राजनीतिलाई चासोपूर्वक लिँदै ‘साझा मुद्दा बोकेका दलहरू मिलेरै अघि बढेको राम्रो भन्दै’ सतर्क गराएपछि एकीकरण र मोर्चाबन्दीको एजेन्डा बलियो ढंगले अघि बढेको हो । सबै मधेसवादी दलका नेतालाई खुर्सिदले निर्वाचनमा संयुक्त ढंगले काम गर्न भन्दै त्यसका लागि आवश्यक परेको सहयोग गर्न तयार भएको समेत बताएका थिए ।
पछिल्लो समय महेन्द्र राय यादव नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल, सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टी र रामनरेश राय नेतृत्वको राष्ट्रिय सद्भावना पार्टीबीच एकीकरणको गृहकार्य निकै अघि बढेको छ । ‘हामी तीन पार्टीको एकीकरणको औपचारिक छलफल गहिराइमा पुगेको छ,’ राष्ट्रिय सद्भावना पार्टीका महासचिव कौशलेन्द्र शर्माले कान्तिपुरसँग भने ।
उता महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले गतसाता नै मधेसी दलहरूबीच एकीकरणका लागि आह्वान गरेको थियो । ‘हाम्रो चाहना सबै मधेसी दल एक भएर चुनावमा जानुपर्छ भन्ने नै हो,’ उपाध्यक्ष वृषेशचन्द्र लालले भने, ‘विश्वास छ, एकीकरण वा मोर्चाबन्दीमा कुनै रोकावट आउने छैन ।’ एकीकरण वा मोर्चाबन्दी नहुँदा मधेसबाट आफूहरू बढारिने भय उनीहरूमा छ । मधेसका जनताले विगतदेखि नै चुनावमा एक भएर आउन सबैजसोलाई आग्रह गरेका छन् ।