काठमाडौ । अर्घाखाँचीबाट काठमाडौ आउदै गरेको लु १ ख ७३३३ नम्बरको रात्री बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाविस वडा नं. ४ जुगेखोला नजिक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बसमा रहेका मध्ये १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन् । मृत्यु हुनेमा नरपानी-४ घर भएका २२ वर्षीय पुरन बुढाथोकी, सिमलपानी-५ का देवबहादुर पुन र खिल्जी घर भएकी अन्दाजी २५ वर्षीय राधा पौडेल रहेको अर्घाखाँची प्रहरी प्रमुख हिराबहादुर पाण्डेले बताए ।
घाइते मध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको शिवदर्शन अस्पताल धार्केमा प्राथमिक उपचार गराई काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक आनन्द लामिछानेले जानकारी दिए।
चालक र सह चालक सकुशल रहेको प्रहरीले जनाएको छ। बेजोडसँग हुँइकिरहेको बस एक्कासि सातकिलो भन्ने ठाउँमा आइपुगेपछि पृथ्वीराजमार्गको भित्तातिर ठोक्किँदै गुड्न थालेको थियो। खलासीले ड्राइभरलाई सम्बोधन गर्दै बसलाई नियन्त्रणमा लिन चिच्याए थिए। तर भित्तामा ठोक्किँदै २०० मिटर जति गुडेपछि बस २० मिटर तल खसेको छ। बसभित्रका ६० जना यात्रु रहेका थिए।
पश्चिमाञ्चल बस व्यावसायी संघद्धारा सञ्चालित उक्त के.सी ट्रावल्सको बस सन्धिखर्कबाट आईतबार बेलुका ४ बजे काठमाडौका लागि छुटेको बस सोमबार विहान ५:३० बजेतिर दुर्घटना भएको हो । चालक निदएकाले दुर्घटना भएको हो, धादिङ ईलाका प्रहरी कार्यालय खानीखोलाका उद्धारमा संलग्न सही प्रकाश सिंहले टेलिफोनमा भने, सडकको ८० मिटर परै देखी गाडीले लिक छाडेपछि दुर्घटना भएको हो । निदाउने चालक सुन्दर परियारलाई नियन्त्रणमा लिएको उनले बताए ।
इलाका प्रहरी कार्यालय खानीखोला, प्रहरी चौकी महादेवबेसी र स्थानीय स्वयंसेवकले उद्धार गरेका थिए।
Arghakhanchi.Com editor Birendra KC contributed to this report.
तस्बिर सौजन्य: रामेश्वर कार्की
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।