आफैले हस्ताक्षर गरेको चार दलबीचको सहमति विपरित एकीकृत माओवादीका प्रचण्डद्धारा आदिवासी जनजाति आन्दोलनको समर्थन दिने आश्वासन

प्रचण्डसंविधानसभाको नयाँ चुनावमा प्रत्यक्ष र समानुपातिक प्रतिनिधित्व पचास-पचास प्रतिशत हुने सहमतिमा हस्ताक्षर गरेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले समानुपातिकको संख्या बढाउन आफ्नो दल तयार रहेको बताएका छन्।


 

चार प्रमुख राजनीतिक शक्तिबीचको उक्त सहमतिप्रति रुष्ट आदिवासी जनजाति महासंघको टोलीसँगको भेटमा प्रचण्डले उक्त निर्णय उल्टाउन दबाब दिन आन्दोलन गरिए समर्थन गर्ने आश्वासन समेत दिए।


नेकपा एमालेलेका एकजना नेताले उक्त अभिव्यक्तिलाई ‘मंसिरमा चुनाव नगराउन मान्छे उचाल्ने गैरजिम्मेवार भनाइ’ भनि टिप्पणी गरेका छन।

 

महासँघका प्रतिनिधिहरु प्रचण्ड समक्ष समानुपातिक प्रतिनिधित्व ६० प्रतिशत हुनु पर्ने माग सहितको ज्ञापन पत्र बुझाउन गएका थिए।


उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व मंगलबारदेखि दोश्रो पटक सम्हाल्न लागेका प्रचण्डले आश्वस्त पार्दै भने, “हामी त तपाईंहरुसँगै छौं नि, त्यसकारण अरुलाई भन्नुस, सडकमा जानुहुन्छ भने पनि जानुस्, आदिवासी, जनजाति, महिला, मुस्लीम, मधेसी, दलितको संख्या बढाउन हुने आन्दोलनमा हाम्रो समर्थन हुन्छ।”


प्रचण्डले महासंघको मागबारे उच्च राजनीतिक समितिमा कुरा उठाउने आश्वासन समेत दिएका थिए।

एमाले नेता रघुजी पन्तले प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भने, “त्यो तहको उच्च नेताले ११ र २५ बुँदे सहमति गर्ने र बाहिर गएर त्यसो भन्नु अन्त्यन्तै आपत्तिजनक र गैरजिम्मेवारी हो, त्यो भनेको त मंसिरमा चुनाव नगराउन मान्छे उचाल्ने कुरा हो।”

 

प्रचण्डले सम्झौता नगर्दा चुनाव नहुने स्थिति देखिएपछि वाध्यतावश पचास-पचास प्रतिशतको सम्झौता गरेको प्रष्टिकरण दिएका थिए।


तर नेता पन्तले आफ्नो दल एमालेका कैयौं अडान रहेको तर चुनाव गराउने शर्तमा आफुहरुले चित्त नबुझ्दा नबुझ्दै कैयौं कुरामा सम्झौता गरेको उल्लेख गरे।

अन्य कतिपय असन्तुष्ट दलले पनि चुनावमा जान समानुपातिक प्रतिनिधित्व बढाउनु पर्ने शर्त राखिरहेका छन्।
तर जहाँ, जो भेटियो उसको मन राखिदिन, जे पनि बोलिदिने नेताको रुपमा प्रचण्डको आलोचना गर्नेहरुका निम्ति उनी आफैले नयाँ खुराक दिएका छन्।


यसअघि पनि जनजाति र क्षेत्री समाजका अगुवाहरुसँगको अलग-अलग भेटमा उनीहरुलाई आन्दोलनमा जान उचालेको भनि प्रचण्डको चर्को आलोचना भएको थियो।

 

RSS / BBC NEPALI