बेचविखनमा परेका महिलाहरुद्धारा स्थापित एक नेपाली संस्था र्‍यामोन म्यागासेसे पुरष्कारबाट पुरस्कृत

एसियाको नोबेल पुरस्कार पनि भनेर चिनिने सम्मानित र्‍यामोन म्यागासेसे एवार्डबाट नेपाली महिलाहरुले चलाइरहेको एउटा संस्था शक्ति समूह पुरस्कृत भएको छ।


१६ वर्षको उमेरमा भारतमा बेचिएको दुई वर्षपछि उद्धार गरी नेपाल फर्काइएकी सिन्धुपाल्चोककी चरीमाया तामाङको सकृयतामा स्थापना गरिएको उक्त संस्था बेचिएर उद्धार गरिएका महिलाहरुले नै चलाइरहेका छन्।


बेचबिखनमा परेका महिला तथा बालबालिकाको उद्धार र तिनको सेवामा समर्पित भएकोमा उक्त संस्थालाई पुरस्कृत गरिएको म्यागासेसे फाउन्डेशनले जनाएको छ।


शक्ति समूहभन्दा अघि नेपालका चार जना व्यक्तिहरु म्यागासेसे अवार्डबाट सम्मानित भएका थिए।

 

यसपालिको पुरस्कार शक्ति समूह सहित एसियाली देशहरुका चार अन्य व्यक्ति तथा संस्थाले पाएका छन्।


म्यागासेसे एवार्ड समितिका अनुसार शक्ति समूहका संस्थापक तथा सदस्यहरुलाई मानव बेचबिखनमा परेका अन्य पीडितहरुको जीवन परिवर्तन गरेको, तिनको सेवामा समर्पित भएको तथा नेपालबाट बेचबिखनको जघन्य सामाजिक विकृति हटाउने अभियानमा दत्तचित्त भई लागेकोमा उक्त पुरस्कारबाट सम्मानित गरिन लागेको हो।


शक्ति समूहले आफ्ना क्रियाकलापमार्फत सबै पीडित महिला तथा बालबालिकाहरुको जन्मजात अधिकार एवम् उनीहरुको मानवीय मर्यादालाई पुनर्स्थापित गर्नमा विश्वसामु उदाहरण प्रस्तुत गरेको भनी समितिले प्रशंसा गरेको छ।


सम्मानित भएपछि समूहकी कार्यक्रम संयोजक चरिमाया तामाङले आफूहरुले अझै धेरै काम गर्न बाँकी रहेको भन्दै यो सम्मानले अभियानमा निरन्तर लाग्न प्रेरणा दिएको बताईन्।

सन् १९९६ मा भारतका वेश्यालयहरुमा प्रहरीले छापा मारी उद्धार गरेका करीब डेढ सय नेपाली महिलाहरुलाई स्वदेश फर्काउन खोज्दा एचआईभी एड्स रोग भित्र्याउन खोजिएको भन्दै आलोचना भएपछि स्वयंनै जागरुक भएर ती मध्ये केहि महिलाले शक्तिसमूह गठन गरेका थिए।


“कैयौं दिदी बहिनी आजको मितीमा पनि वेचबिखनमा परिरहेको अवस्था छ।


उनीहरुको उद्धार तथा पुनर्मिलन, स्वेदेश फिर्ती र पुर्नस्थापनाको लागि हामी काम गरिरहेका छौं,” दश जिल्लामा काम गरिरहेको संस्थाकी संयोजक तामाङले भनिन्।


यसअघि इतिहासकार महेशचन्द्र रेग्मी, पत्रकार भारतदत्त कोइराला, आँखा विशेषज्ञ सन्दुक रुइत तथा ग्रामीण क्षेत्रमा सूचना प्रविधिका अभियानकर्मी महावीर पुन सो एवार्डबाट सम्मानित भएका थिए।


सन् २०१३ को म्यागासेसे एवार्ड पाउनेमा नेपालको शक्ति समूह सहित फिलिपिन्स, म्यान्मार तथा अफगानिस्तानबाट एक, एक व्यक्ति तथा इन्डोनेसियाको एक संस्था रहेका छन्।


फिलिपिन्सका पूर्व राष्ट्रपति र्‍यामोन म्यागासेसेको नाममा स्थापित सो पुरस्कार आगामी अगष्ट ३१ तारिखका दिन फिलिपिन्सस्थित सांस्कृतिक केन्द्रमा वितरण गरिनेछ।

 

RSS, BBC NEPALI