पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी माओवादी अध्यक्ष मोहन वैद्यले वैदेशिक शक्तिको योजनामा चुनाव गर्न लागिएको भन्दै देशव्यापी रुपमा चुनाव विरोधी गतिविधि सञ्चालन गरिएको जानकारी दिए ।
यद्यपी राजनीतिक दल र सरकारसँगको वार्ताको ढोका भने खुलै राख्ने पनि माओवादीले जनाएको छ । पत्रकार सम्मेलनमा वैद्यले राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका विषयमा सहमति जनाउने जोसुकैसँग पनि सहकार्य गरेर अघि बढ्न सकिने बताए ।
यसैबीच, आजदेखि चुनाव बहिष्कारको अभियान सुरु गरेको माओवादीले देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको छ । राजधानीको रत्नपार्कस्थित शान्ति बाटिकामा माओवादी महासचिव रामबहादुर थापाले सांकेतिक मतपेटिका फुटाएर अभियानको सुरुवात गरे ।
थापाले आफूहरु २१औं शताब्दीका भीमसेन थापा बन्न तयार भएको उद्घोष गर्दै राष्टघातीका विरुद्ध आत्मसमर्पण नगर्ने बताए ।
उनले राजनीतिक चार दलका नेताहरुलाई विदेशी दलालको आरोप लगाउँदै उनीहरुलाई गाउँ-गाउँबाट लखेट्ने उद्घोष समेत गरे ।