इजिप्टको राजधानी कायरोमा सेनाका समर्थक तथा अपदस्थ राष्ट्रपति मोहमद मोर्सीका समर्थकहरुको छुट्टा छुट्टै विरोध प्रदर्शनहरुका क्रममा कम्तीमा पनि १२० जनाको मृत्यु भएको छ।
कायरोमा हजारौं प्रदर्शनकारीहरु घाइते भएका छन।
दुईथरी बीच शक्ति प्रदर्शनको रुपमा ती विरोध प्रदर्शनहरुलाई लिइएको छ।
कायरोको तहरीर चोक तथा वरपर ठूलो संख्यामा भींड जम्मा भए। तिनले सेनाको समर्थनमा आतिशबाजी गरे।
मोर्सीका समर्थकहरु चाहीं शहरको पूर्वी भागमा रहेको मस्जीद वरपर जम्मा भए र तिनले आफ्ना नेतालाई अपदस्थ गरिएकोमा सेनाको निन्दा गरे।
उनी विरुद्धका प्रदर्शनहरु फैलन थालेपछि जुलाईको शुरुमा राष्ट्रपति मोहम्मद मोर्सीलाई हटाएर सेनाले अन्तरीम राष्ट्रपति नियुक्त गरेपछि इजिप्टमा चर्किएको तनाव झन् झन् बढ्दैछ।
आफ्ना नेता मोर्सीलाई निकालेकोमा आक्रोशित उनका समर्थकहरु तथा सेनाको कदमको समर्थन गर्नेहरुको ठूलो भींडले राजधानी कायरो भरिएको छ।
हालसम्म मुख्य र्यालीहरु शान्तिपूर्ण देखिएका छन्।
तर शुक्रबार बिहान अलेक्जेन्ड्रिया शहरमा भएका झडपहरुमा पाँच जना मारिएका थिए।
शनिबार सबेरै बोल्दै आन्तरीक मामिला मन्त्री मोहम्मद इब्राहिमले भनेका छन् रबा अल अदविया मस्जिद अघि मोर्सीका समर्थकहरुले गरेको धर्नालाई कानुन बमोजिम अन्त्य गरिनेछ।
उनले स्पष्ट त पारेनन् तर भने स्थानिय बासिन्दाहरुले धर्नाको विरुद्ध गुनासो गरेका छन्।
यस हप्ताको शुरुमा सैनिक प्रमुख जनरेल अब्देल फताह अल सीसीले सेनालाई सहयोग गर्न मानिसहरुलाई प्रदर्शनमा उत्रन आव्हान गरेका थिए।
प्रदर्शनहरु चर्किंदै गर्दा अधिकारीहरुले मोर्सीलाई प्यालेष्टाईनी विद्रोही संगठन हमास संग मिलेर षडयन्त्र रचेको लगायतका आरोपमा औपचारिक पक्राउ आदेश दिएका छन्।
उनीमाथि सन् २०११ मा राष्ट्रपति होस्नी मुबारकलाई सत्ताच्युत गर्ने आन्दोलन ताका जेलहरुमा आक्रमणको योजना बुनेको आरोप लागेको थियो। सन् २०११ को जनवरीमा कायरोको जेलमा गरिएको आक्रमणमार्फत मोर्सी तथा उनको दल मुस्लीम ब्रदरहुडका नेताहरु मुक्त पारिएका थिए।
पश्चिमा देशहरुद्वारा मोर्सीलाई रिहा गरिनुपर्ने या त उचित कानुनी कारवाही गरिनुपर्ने भनी इजिप्टको सेनामाथि बढाएको दबाबका बीच मोर्सीमाथि यी औपचारिक आरोप लगाइएका हुन्।
तर मुस्लीम ब्रदरहुडले ती आरोपको खण्डन गरेका छन्।
प्यालेष्टाइनी संगठन हमासका एक नेतालेपनि आरोपहरुको खण्डन गरेका छन्।