– शोभाखर पन्थी
अड्गुरी, अर्घाखाँची । जिवनभर खुल्ला ठाउँमा दिसा पिसाब गर्दै आएका अड्गुरी-१ का डोल बहादुर रेग्मीलाई पहिलो पटक चर्पीमा दिसा गर्न जाँदा दिसा नै आएन । ६० वर्षिय वृद्घ कुष्ठरोगी रेग्मीले आफ्नो घरमा शौचालय बनेपछि पहिलो पटक दिसापिसाब गर्न जाँदा निकै अप्ठ्यारो महसुस भएको बताउनु हुन्छ । ५० वर्षको उमेरमा कुष्ठरोग लागेर हात र खुट्टाका औला गुमाएका वृद्घ रेस्मीले परिवारमा एक्लो जीवन विताउँदै आउनु भएको छ ।
छरछिमेक र इष्टमित्रहरुको सहारामा जीवन चलाउँदै आउनु भएका उहाँले साँझ बिहानको छाकटार्नको लागि छिमेकीकै भरपर्नुपर्ने बाध्यता छ । भएको घर भत्कीएको छ । खेतीगर्ने जग्गा बाँझिएको छ । वृद्घ शरीर त्यसमाथी पनि कुष्ठरोग आफ्नो भाग्य देखि दिक्क बनेका रेस्मी घरमा शौचालय बनेपछि आफूलाई सपना जस्तै महसुस भएको बताउनुहुन्छ ।
अड्गुरी गा.वि.स. वार्ड नं. १ मा हुने खाने देखि विपन्न परिवारका बासिन्दाहरु अहिले चर्पी निर्माण गरेर ढुक्कसँग बस्न पाएका छन् । अड्गुरी-१ का समाजसेवी मेग बहादुर गोदारले पु-याएको योगदानले अड्गुरीको सिङ्गो गाउँ खुल्ला दिसामुक्त बन्न सफल भएको छ ।
शिवमदन उच्च मा.वि.को शिक्षक भएको बखत गत भाद्र ५ र ६ गते सरसफाइ सम्बन्धि इर्काड्स-प्राग को तालिम लिएका गोदारले गाउँ गाउँमा गएर सचेतना फैलाएपछि सिङ्गो गाउँ खुल्ला दिसामुक्त बनेको हो ।गोदारले आग्रह गरेपछि गाउँका अरु व्यक्तिले शौचालय बनाएपनि कुष्ठरोगी रेस्मीले शौचालय बनाउन नसक्दा आफ्नै निजी रकमले गोदारले साइफन, सिमेन्ट ,छड, खरिद गरि दिएका थिए ।
सामान खरिद गरेपनि रेस्मीको शौचालय बनाउने कुनै उपाय नभएकाले छिमेकीहरुको सहयोग जुटाएर ३-४ दिन काममा जोतिएर चर्पी बनाएको समाजसेवी गोदारले बताउनुभयो ।
गत मंसिर २९ गतेको वार्डभेलाबाट वार्डस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको संयोजक चयन भएका गोदार पौष २० गते जागिरबाट अवकास हुनुभयो ।
जागिरबाट सेवा निवृत्त भएका उहाँले गाउँमा चर्पी पुरा नभए सम्म पेन्सनको काममा लाग्दिन भनेर अडान लिनुभयो र लगातार २ महिना सम्म गाउँ गाउँमा पुगेर चर्पी निर्माणको लागि गाउँलेहरुलाई घच घच्याउनु भयो । विहान देखि साझ सम्म निःशुल्क रुपमा खटेका गोदारले चर्पी निर्माण गर्ने ठाउँमा खाल्डो खन्ने,गारो लगाउने, साइफन बसाल्ने लगायतमा काममा समेत सहयोग पु-याउनु हुन्थ्यो ।
गोदार जस्ता समाजसेवीहरुका कारण आज अड्गुरी गाउँ खुल्ला दिसामुक्त भएको छ । गाउँमा कतैपनि खुल्ला ठाउँमा दिसा पिसाब देख्न पाइँदैन भने प्रत्येक वर्षको वर्षादमा दिसाका कारण लाग्ने आउँ, झाडा पखाला लगायतका रोगमा कमि आउनुका साथै इज्जत र प्रतिष्ठा समेत बढेको गा.वि.स सचिव कृष्ण प्रसाद दमासेले बताउनु भयो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।