दिल्लीमा जस्तो तालको मादल बज्दछ, त्यस्तै तालमा हाम्रा नेताहरु नाँच्ने गर्दछन् । यस्तो विदेशी बादल नेपाली राजनैतिक मैदानमा मडारिनु वा प्रत्यक्ष प्रभाव पर्नु सरासर गलत कार्य हो, मौलिक स्वाधिनता र स्वाभिमानमा आँच ल्याउने कुरो हो । हो, हामीले यो यथार्थ स्विकार्न बाध्य छौं कि, हामी छिमेकी राष्ट्र भारतसङ्ग भौगोलिक, राजनैतिक र साँस्कृतिक हिसाबले सदियौंदेखि नजिक र समानान्तर छौं, तर त्यसो भन्दैमा हामी भारतको हेपाई, बल मिचाई अनि राजनीतिको प्रत्यक्ष निगरानीमा चल्नु मनासिव हुदैन । त्यसो गर्दा हाम्रो आफ्नो राष्टृया अखण्डता र सार्वभौमिकतामा नराम्रो धक्का पुग्न सक्दछ ।
यस्ता संवेदनशील पक्षहरुलाई आजका हाम्रा चलखेलका नेता र बुद्धिजीवीहरुले निकै गहन तरिकाले विचार गर्नुपर्ने देखिन्छ । यसमा हाम्रा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले दूरदर्शी हिसाबले दिनु भएको अभिव्यक्ती वा वाणी संस्मरण गर्दै नीति, व्यवहार अनि सिद्धान्तमा परिपालन गर्नु नितान्त जरुरी देखिन्छ । उहाँको अभिव्यक्ती वा वाणी नेपाल दुई ढुङ्गा बीचको तरुल हो । भन्ने यथार्थलाई सदैव चिन्तन मनन गर्दै तटस्थ नीतिको मार्ग अबलम्बन गर्नु अपरिहार्य कदम हो । हाम्रा दुई ओटै विशाल छिमेकी मित्रराष्ट्रहरु चीन र भारत २१ औं शताब्दीका उदियामान साम्राज्यहरु, आर्थक बिकास र वैज्ञानिक बिकसको शिखर बिन्दुमा दौडिरहेका अग्रणी राष्ट्रहरुसङ्ग नेपाल र यहाँका राजनीतिकर्मीहरुले तटस्थ नीतिको सिद्धान्त लिंदै दुबै मित्रराष्ट्रहरुसँग समदूरी हिसाबमा दौत्य समबन्ध वा कुटुनैतीक समबन्धा कायम राखेर हार्दिक र मैत्रीपूर्ण वातावरणमा चल्नु पर्दछ । एउटालाई काखा र अर्कोलाई पाखा गर्दा साँढेको जुधाई र बाच्छाको मिचाई हुन सक्छ भन्ने कुराको ख्याल राख्नु पर्ने हुन्छ राजनीतिका हिमायतीहरुले ।
नेपालमा चुनावको मिति नजिकिंदै गर्दा दिल्लीबाट हाम्रा राजनैतिक नेताहरुलाई एकपछि अर्को निम्तो भ्रमण ओइरिन थालेको छ । यसमा केही समय पहिले नेपाली काङ्ग्रेसका शेर बहादुर देउवालाई स्वागत भ्रमण भयो र उहांले सोनिया गान्धीबाट भरपुर आशिर्वाद पनि लिनुभयो । देउवाको भ्रमणलाई नेपाली राजनीतिले उच्च प्राथामिकताका साथ हेरेको थियो, किनकी उहांले भारतकी मूल राजनैतिक हस्ती सोनिया गान्धीसँग प्रत्यक्ष भेटघाट गरी वर्तमान नेपालको राजनैतीक परिस्थिती बारे उल्लेख्या कुरो गरेका थिए । अहिले नेकपा एमालेका माधव कुमार नेपाल भारत भ्रमण सकेर नेपाल आउनु भएको छ । अब केही समय पछि नेपाली काङ्ग्रेसका अध्यक्ष सुशील कोइराला भारत भ्रमणको निम्तोमा छन् र त्यसको तयारीमा जुटिराखेका छन् । केही दिन पहिले भारतका विदेशमन्त्री सलमान खुर्शिद नेपाल भ्रमणमा आएका थिए, त्यो छोटो भ्रमणमा खुर्शिदले वर्तमान नेपालको वस्तुस्थिती र नेपाली राजनितिकर्मीहरुको सुझाब र मनस्थिती बुझ्ने चेष्टा गरेका थिए । यसमा मैले भन्न र पोख्न खोजेको विचार के हो भने, यसरी दुई देशका नेताहरु आवात जावात गर्नु अनि विचारको आदान प्रदान गर्नु नराम्रो कुरो होइन, तर नेपालको राजनैतीक एजेण्डा दिल्लीमा गएर बुझाउने होइन र दिल्लीबाट परिस्कृत बनेर आएको एजेण्डा वा भनौं अघोषित उद्घोषण नेपाली जनतमाझ ल्याएर परिचालन गर्ने होइन । यस्तो कार्य वा हर्कतले त एउटा औपनिवेशिक राजनैतीक खाका वा ढाँचा भएन र ? हाम्रा कुनै पनि राजनैतिक हिमायतीहरु छिमेकी मित्रराष्टहरुको तथा अन्य विदेशी राष्ट्रहरुको प्रभाव, दबाव र कबावमा नाँच्न भएन र हुदैन पनि ।