बाजुरा जिल्लामा खाद्य संकट भएपछि सर्वसाधारण आक्रोशित

बाजुरा  । बाजुरा जिल्लामा खाद्य संकट भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । जिल्ला सदरमुकाम मार्तडीमा रहेको नेपाल खाद्य संस्थान शाखाले चामल सकिएको भन्दै सूचना टाँसेपछि सर्वसाधारण आक्रोशित बनेका हुन् । संस्थानले अर्को विकल्प नभएसम्मका लागि जिल्लामा खाद्यान्न वितरण गर्न नसकिने जनाएको छ ।
उता, उत्तरपूर्वी ११ गाविसलाई सेवा दिन स्थापना गरिएको कोल्टी डिपोले पनि चामल वितरणमा रोक लगाएको छ । 
डिपोमा स्टक रहेको चामल सर्वसाधारणलाई अपुग हुने भन्दै चामल वितरणमा रोक लगाएपछि जिल्लाभरका बासिन्दा खाद्यान्नको चरम मार व्यहोर्न बाध्य भएका हुन् । काजकिरिया गर्नेलाई मात्र चामल दिन सकिने डिपोले जनाएको छ । 
जिल्ला प्रशासन कार्यालय बाजुराले भने वर्षाले बाटो अवरुद्ध हुँदा गाडी आउन नसकेको र विमान पनि नचलेकाले खाद्यान्न भित्र्याउन नसकिएको सफाई दिएको छ ।
कोल्टी डिपोबाट मात्र दैनिक दुई सय क्वीन्टल चामल माग हुने गरेको छ । जिल्ला दैवी प्रकोप समितिले जिल्लाका डिपोहरुलाई न्यूनतम एक सय क्वीन्टल चामल मौज्दात राख्न निर्देशन दिए पनि डिपोहरुले आफूसँग चामल सकिएको जनाएको हो । 
बाजुरामा खाद्यान्न अभाव भएपछि जिल्लावासी अछामको साँफे बगरसम्म पुग्न बाध्य छन् । बाजुरामा बर्षासँगै सडक अवरुद्ध भएकाले खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्रीको आपूर्ति ठप्प हुने भएकाले जिल्लामा बर्सेनी खाद्यान्न संकट हुने गरेको छ ।
RSS