मुलुक जटिल अवस्थामा रहेका बेला राष्ट्रपतिको मौनता रहस्यपूर्ण: कमल थापा

सप्तरी – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक जटिल अवस्थामा रहेका बेला राष्ट्रपतिको मौनता बुझिनसक्नु रहेको बताएका छन्।
 राप्रपा नेपालद्वारा आज बिहान यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, राष्ट्रपति किन चुप लागेर बस्नुभएको छ, त्यो भित्री कुरा बुझ्न पाएको छैन, तर उहाँको मौनता रहस्यपूर्ण छ।
आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागी गराउने तीनदल र मधेसी मोर्चाका नेताहरुको नियत नरहेको टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रपतिले असन्तुष्ट दलहरुसँग वार्ता डाक्नुपर्ने बताए। 
निर्वाचन बहिष्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको माओवादीसँग तत्काल सहकार्य हुने सम्भावना नरहेको उल्लेख गर्दै उनले भने, ‘वैद्यजी र हाम्रो पार्टीको मान्यता नै फरक छ र सहकार्यको विषयमा छलफल पनि हुन नसकेको अवस्थामा सहकार्य हुने कुनै सम्भावना छैन।’ 
मुलुकमा रहेको चारदलीय संयन्त्र नै निर्वाचनको मुख्य तगारो रहेको आरोप लगाउँदै अध्यक्ष थापाले तत्काल चारदलीय संयन्त्रलाई खारेज गरी राजनीतिक सहमतिका लागि गोलमेच सम्मेलनमा जानुपर्ने बताए।
आगामी मङ्सिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनका लागि युद्धगतिमा तयारी तीव्र पारेको जानकारी दिँदै उनले अब हुने निर्वाचनमा आफ्नो पार्टीले एक तिहाई सिटमा विजयी हासिल गर्ने दाबीसमेत गरे। 
रासस 

चुनाव हुनेमा आशंका
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक अन्यौलतालाई हटाउन चुनाव नै एक मात्र उपाय भएपनि वर्तमान सरकारको कार्यशैली प्रभावहीन भएकाले चुनाव हुनेमा आशंका बढेको बताएका छन् । 
सप्तरीको सदरमुकाम राजविराजमा आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै थापाले चुनावका लागि चार दलीय संयन्त्र नै मूख्य तगारो बनिरहेको भन्दै सार्थक निर्वाचनको निम्ति सवै दलको समान सहभागितामा सर्वदलीय वैठक वा गोलमेच सम्मेलन हुनुपर्नेमा जोड दिए । 
पार्टीले भाद्र २६ गते देशब्यापी रुपमा राष्ट्रिय एकता यात्रा अभियान चलाउने र कार्तिक ४ देखि ११ सम्म सनातन हिन्दूराष्ट्र स्थापनाका लागि हस्ताक्षर संकलन अभियान सुरु गर्ने थापाले जानकारी दिए । 
मुलुकमा राजासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र अपरिहार्य रहेको भन्दै राजतन्त्रलाई पाखा लगाउने काम दोस्रो जनआन्दोलनको सम्झौता विपरित भएको उनले दावी गरे ।
RSS