चिदिका अब छिट्टै खुल्ला दिसामुक्त गाविस बन्ने

चिदिका, अर्घाखाँची  । आर्थिक बर्ष २०६८/ ०६९ देखि नै गाविसबाट बजेट विनियोजन गरि चर्पी निर्माणमा लागि परेको अर्घाखाँची जिल्लाको चिदिका गाविसमा हाल करिब ९४ प्रतिशत घरधुरीले चर्पी प्रयोग गरिरहेका छन् ।

 


 

असुरकोटपछि जिल्लामै दोस्रो खुल्ला दिसामुक्त गाविस चिदिका हुने धेरैको अनुमान गलत सावित भईसकेको छ। असुरकोट खुल्ला दिसामुक्त घोषणा पछि सरसफाइ अभियान थालनी गरि खुल्ला दिसामुक्त घोषणा समेत भएका ५ गाविसहरु र हालसम्म खुल्ला दिसामुक्त अवस्थामा रहेका अन्य ८ गाविसहरुले चिदिका गाविसलाई उछिनिसकेका छन् । 

 

 सरसफाइ गुरुयोजना आउनु अघि नै चर्पी निर्माणका लागि सहयोग गर्ने गरि कामको थालनी भएकाले, सरसफाइको बारेमा समुदायस्तरमा सचेतीकरण कार्यक्रमहरु आयोजना गर्न तर्फ ध्यान नगएकाले सैद्धान्तिक र प्राविधिक ज्ञानको अभाव हुन गई चिदिका गाविस खुल्ला दिसामुक्त अवस्थामा पुग्न धेरै समय लागेको महशुसीकरण सहभागीहरुले गरे । उनिहरुले पूर्ण सरसफाइ सम्बन्धी आज मात्र सञ्चालन भएको जस्तो सचेतीकरण तालिम भिवासिसिले २ बर्ष पहिले आयोजना गर्न पाएको भए चिदिका पहिलो बर्षमै खुल्ला दिसामुक्त बन्न सक्ने थियो भन्ने भनाई राखेका थिए ।  ढिलै भएपनि सहजीकरण र सहयोग गर्ने निकाय पाएकोमा भने उनीहरुले खुशी ब्यक्त गरेका छन् र सकेसम्म साउन महिना भित्रै बाँकी घरले चर्पी बनाएर भदौ १५ भित्रै जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितीलाई अनुगमनका लागि पत्राचार गर्ने गाविस सचिव एवं गाविस स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितीका अध्यक्ष कृष्ण प्रसाद पन्थीले जनाएका छन् ।
 
गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितीको आयोजनामा ग्लोबल स्यानिटेसन फण्डको सहयोगमा लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरणमा सम्पन्न अभिमुखीकरणमा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, समितिका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयम् सेविकाहरु, वडा नागरिक मञ्चका संयोजकहरु एवं समाजसेवीहरु गरि ७३ जना सहभागी भएका थिए । अभिमुखिकरणको सहजीकरण कार्यक्रम संयोजक महेन्द्र सुवेदी, टिम लिडर सुरज सारु र यु एन ह्याविट्याटका जिल्ला संयोजक विष्णु दवाडीबाट भएको थियो । चिदिका गाविसका अध्यक्ष एवं गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितीका अध्यक्ष कृष्ण प्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव एवं हेल्थ पोष्ट इन्चार्ज राम प्रसाद पौडेलबाट गरिएको थियो ।

 


 

कार्यक्रमको समापन सत्रमा अध्यक्षले आफ्ना दुई दाजुहरुको मृत्युको कारण दिसा जन्य रोग झाडापखाला र रगतमासी भएको कुरा आफुले पछि थाहा पाएको र आफु पनि सानो छदा झाडापखाला लागेर भाग्यवश बाँच्न पुगेको बारेमा लेखबाट जानकारी गराउनु भएको थियो “सत्य घटना साँचो हो, शौचालय हामी सबैको खाँचो हो ” नामक शिर्षकमा जेठ २५ गते रचना गरेको कविता वाचन गर्दै चर्पी र सरसफाइको बारेमा थाहा नहुँदा दाजुहरुले बाल्य अवस्थामै ज्यान गुमाउनु परेको र अझै पनि नेपालका १० हजार पाँच सय बालबालिकाहरु झाडापखालाको शिकार भएर बाबुआमाको काख रित्तिई रहेको बताउदै हामी नेपालीको स्वाभीमान आत्मसम्मान स्वास्थ्य र प्रतिष्ठाका लागि सबैले चर्पी बनाएर प्रयोग गर्नु पर्ने कुरा बताउनु भएको थियो । 

 

गाविसलाई खुल्ला दिसामुक्त स्थापित गरि पूर्ण सरसफाइ तर्फ अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दै चिदिकाबासीले गाविस सचिव तथा गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको संयोजकत्वमा ५ सदस्यिय सरसफाइ कार्य योजना तर्जुमा कार्यदल गठन गरेका छन् । त्यसै गरि हालसम्म पनि चर्पी बनाउन आनाकानी गरिरहेका ब्यक्तिहरुलाई चर्पी बनाउन अनुरोध गरि पत्राचार गर्ने निर्णय गरिएको छ । ” हामी सबैको एकता हाम्रो स्वाभीमान, पूर्ण सरसफाइयुक्त चिदिका हाम्रो अभियान” गाविसको सरसफाइ नारा तय गरेर छिटै नै खुल्ला दिसामुक्त अवस्था हासिल गर्ने लक्ष्य लिएको यस गाविसका करिब ८५० घरधुरी मध्ये हाल ८११ घरपरिवारले चर्पी प्रयोग गरिरहेका छन् ।

 


Premnarayan Acharya in Arghakhanchi contributed to this report.

 


 


Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।







अन्य समाचारहरु