सुनसरीको चतराबाट उदयपुरको मैनामैनी जांदै गरेको डुंगा सप्तकोशीमा पल्टिंदा मर्नेको संख्या चार

उदयपुर । सुनसरीको चतराबाट उदयपुरको मैनामैनी जांदै गरेको डुंगा सप्तकोशीमा पल्टिंदा मर्नेको संख्या चार पुगेको छ । हिजो भएको सो घटनामा हराईरहेका मध्ये थप दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । 
घटनामा बेपत्ता भएका १५ जनाको खोजी कार्य जारी छ । 
घटनामा उदयपुरको रामपुर गाविस वडा नम्बर ३ की पार्वती खड्का र सुनसरी चक्करघट्टीकी नाम खुल्न नसकेकी अर्की महिलाको मृत्यु भएको र दुई जना वालकको शव फेला परेको प्रहरीले जनाएको छ । 
घटनामा रामपुर ठोक्सिला वडा नं १ का जुरमान राई, श्रीमती बसमाया राई , ठोक्सिला वडा नं ३ का रोसिका खड्का, कोपिला विष्ट, मुना खड्का, ठोक्सिला वडा नं २ का रत्न बहादुर राई, कटुञ्जे बबला वडा नं ६ का नारायण श्रेष्ठ, सपना मगर, त्रीयुगा नगरपालिका वडा नं ५ भुल्के राधिका चापागाई र उनका छोरा रितेस चापागाई , मैनानैना ९ का टेकराज राई , भोजपुरका प्रेम श्रेष्ठ, धनकुटा डांडाबजारका अमृत विक, सुनसरी महेन्द्रनगरका नाम खुल्न नसकेका एक पुरुष र उदयपुरका ६ महिनाका नाबालक बेपत्ता भएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । 
साउने सोमबारको अवसरमा चतराधाम दर्शन गरी फर्केका ९० भन्दा बढी यात्रु बोकेको डुंगा किनारमा पुग्नैलाग्दा केही यात्रुहरु आत्तिएर हाम्फालेपछि डुंगा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा खटिएका छन् ।
उता, सिन्धुलीमा कमलामाई नदीले बगाएर हिजो सात तीर्थयात्रीको मृत्यु भएको थियो । नदीले बगाएर चार महिला र तीन पुरुषको मृत्यु भएको हो । मृत्यु हुने मध्ये सर्लाही बलवा सुक्नाकी रामपरीदेवी राम, महोत्तरी सुगा गाविस ६ का गंगा देवी, सोही ठाउँकी कमिया नुनिया, भारतको बिहार सितामढीका अजयराम र मधुवनीका गोलीय ठाकुरको मात्र सनाखत भएको छ । 
हत्पत्तेको गागन नजिकैबाट नदी पार गर्दा बगेका उनीहरुको शव करिब सय मीटर तल फेला परेको हो । जरायोेटारस्थित मधुगंगा महादेवको मन्दिर दर्शन गर्न जाने क्रममा उनीहरुलाई नदीले बगाएको प्रहरीले जनाएको छ ।
RSS