संविधान सभाको निर्वाचनलाई लिएर अर्घाखाँचीका दलहरुबीच बाझा बाझ

– शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । आगामी संविधान सभा निर्वाचनको विषयलाई लिएर अर्घाखाँची जिल्लाका राजनीतिक दलका नेताहरुले फरक-फरक धारणा व्यक्त गरेका छन् । 
जिल्लामा क्रियाशिल प्रमुख ३ दल एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले का नेताहरुले आगामी मंसीर ४ गते हुने निर्वाचनमा अर्घाखाँचीका दुवै क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दावी गरेका छन् भने नेकपा माओवादीले अहिलेकै अवस्थामा मंसीरमा ४ मा निर्वाचन गर्ने सपना नदेख्न आग्रह चेतावनिदिएको छ ।
रिर्पोटस क्लब अर्घाखाँचीद्धारा सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै, एकिकृत नेकपा माओवादीका जिल्ला संयोजक गोविन्द के.सी. प्रकाश ले मुलुकको निकासको लागि मंसीर ४ गते नै संविधान सभाको निर्वाचन गर्नुको विकल्प नभएको भन्दै निर्वाचन हुनेमा ढुक्क रहन सबै पक्षलाई आग्रह गर्नु भयो । आगामी निर्वाचनमा दुवै क्षेत्रमा आफ्नो पार्टी विजयी हुने के.सी.को दावी थियो । 
नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले राष्ट्रियता र जनअधिकार रक्षाका लागि निर्वाचन सुनिनिश्चत गर्नु पर्ने बताउँदै, निर्वाचन हुनेमा ढुक्क रहन जनतालाई आग्रह गर्नुभयो । जिल्लाको सबैभन्दा ठूलो दल कांग्रेस नै भएको उहाँको जिकिर थियो । 
नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जनतामा अझै पनि निर्वाचन प्रति आशंका कायमै रहेको भन्दै ,जनतालाई विश्वासमा लिएर तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु पर्नेमा जोड दिनु भयो । आचार्यले पनि के.सी.र भुसाल ले जस्तै जिल्लामा आफ्नो पार्टीले चुनाव जित्ने दावी गर्नुभयो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी.ले निर्वाचनको लागि ४ दलिय सिन्डिकेट बाधक रहेको बताउँदै दलिय सहमतिमा संविधान सभाको निर्वाचन गर्नुको विकल्प नभएको बताउनु भयो ।
नेकपा माओवादीका केन्द्रिय सदस्य भेषराज भुसालले संविधान निर्माणका अन्तरवस्तुमा सहमति नभएसम्म संविधान सभाको निर्वाचन हुनै नसक्ने जिकिर गर्दै ४ दलले गर्ने भनेको निर्वाचन हावादारी कुरा मात्रैभएको आरोप लगाउनु भयो । वैदेशिक शक्ति केन्द्रको ईच्छा पुरा गर्न संसदवादी दलहरुले निर्वाचन गर्न लागेको भन्दै मुलुकलाई सिकिम्मीकरण गर्ने निर्वाचन हुनै नदिने उहाँको दावी छ । 
कार्यक्रमका मन्तव्य राख्दै स्थानीय शान्ती समितिका पुर्व संयोजक तथा नेपाली कांग्रेसका युवा नेता बिष्णु प्रसाद खनाल मुस्कानले सबै दललाई सहमतिमा ल्याएर मात्रै संविधान सभाको निर्वाचन गर्नु पर्ने बताउँद,ै नेकपा माओवादी लगायतका विरोधमा रहेका दलहरुलाई निर्वाचनमा ल्याउने वातारण बनाउन सरकार र ४ दललाई आग्रह गर्नु भयो ।  विवादका बीच हुने निर्वाचनले दिगो शान्ती र संविधान दिन नसक्ने उहाँको आशंका थियो । 
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले संविधान सभा निर्वाचनमा बहुसंख्यक जनताले अपनत्व गर्नु पर्ने भन्दै, निर्वाचन सम्पन्न गर्न सबैखाले तयारी गर्न आफु प्रतिवद्ध रहेको दावी गर्नु भयो । 
कार्यक्रममा प्रहरी नायव उपरिक्षक हिरा बहादुर पाण्डे, जिल्ला निर्वाचन कार्यालयकन प्रमुख महेश पाण्डे लगायतले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षबीच एकता र सहकार्यको खाँचो रहेको बताउनुभयो । कार्यक्रम रिर्पोटस क्लबका जिल्ला अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु