हत्यारालाई कारवाहीको माग गर्दै वालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारीवादी प्रहरी नियन्त्रणमा

काठमाडौं  । गोरखा जिल्ला निवासी नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै वालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारीवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानवअधिकार आयोगको आग्रहलाई समेत सरकारले वेवास्ता गरेको भन्दै धर्नामा सहभागी मानवअधिकारवादीले नारावाजी गरेका थिए ।
उनीहरुले दोषीलाई कानूनी कठघरामा उभ्याउन माग गर्दै आमरण अनसनमा बसेका नन्दप्रसाद र गंगामायाको जीवनरक्षाको माग पनि गरेका छन् । अधिकारी दम्पत्तीका माग एवं जाहेरी उपर आजसम्म सरकारले कुनै कारवाही गरेको छैन ।
यता, ५ महिनादेखि लगातार अनशनमा रहेको अधिकारी दम्पत्ती आफ्नो छोराको हत्यामा संलग्नलाई कारवाही नगरेसम्म अनशन नत्याग्ने अडानमा छन् । लगातारको अनशन र सरकारी वेवास्ताका कारण अधिकारी दम्पत्तीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको चिकित्सकहरुले बताएका छन् । 
प्रधानमन्त्री निवास बालुवाटार अगाडि अनशनमा बसेका दुबैलाई प्रहरीले उठाएर वीर अस्पताल लगेर छाडेकाले त्यही उनी अनशनमा बसिरहेका छन् । अधिकारी दम्पती आकस्मिक कक्षमै रहेको पनि आज ९ दिन भइसकेको छ । 
२०६१ सालमा माओवादीले अपहरण गरेर छोरा कृष्णप्रसादको हत्या गरेको र २०६४ सालमा जग्गा कब्जा गरेको अधिकारी दम्पत्तीको आरोप छ ।
  
RSS, IMAGECHANNEL