पाकिस्तानको एक मस्जिद नजिक अज्ञात बन्दुकधारीले गोली हानी कम्तिमा ९ जनाको हत्या

इस्लामावाद  । पाकिस्तानको एक मस्जिद नजिक अज्ञात बन्दुकधारीले गोली हानी कम्तिमा ९ जनाको हत्या गरेका छन् । क्वेटा शहरमा मुश्लिमहरुको धार्मिक पर्व ईदका लागि प्रार्थना गरिरहेकाहरुको बीचमा प्रवेश गरेका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरेका बीबीसीले जनाएको छ ।
मस्जिदमा गोली प्रहार गरी फर्केका बन्दुकधारीले पाकिस्तान पिपुल्स पार्टीका पूर्व मन्त्री अली मददको कारमा पनि गोली प्रहार गरेको बताइएको छ । यद्यपी पूर्वमन्त्री भने सुरक्षित रहेका छन् । 
घटनापछि प्रार्थना गरिरहेकाका श्रद्धालुहरुबीच भागदौड मच्चिएको थियो । घटनामा २० जना घाइते भएका छन् । 
यसअघि हिजो मात्रै सो शहरमा भएको बम बिस्फोटमा २९ जना मारिएका थिए । घटना लगत्तै सुरक्षाब्यबस्था कडा पारिएको छ । 
घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिईनसकेको जनाइएको छ ।
Agencies