बंगाल राज्य सरकारले गुप्तचर निकायलाई दार्जिलिङमा बन्दुकको लाइसेन्स लिएकाहरुको सुची तयार पार्न निर्देशन

दार्जिलिङ  । बंगाल राज्य सरकारले गुप्तचर निकायलाई दार्जिलिङमा बन्दुकको लाइसेन्स लिएकाहरुको सुची तयार पार्न निर्देशन दिएको छ । पूर्व सैनिकहरुले गोर्खाल्याण्डका समर्थकहरुलाई हतियारको तालिम दिएको आशंकामा यो कदम चालेको बताइएको छ । दार्जिलिङमा करिब १३ सय जनासंग हतियारको लाइसेन्स रहेको अनुमान छ ।
उता भारतको पश्चिम बंगालमा नेपाली भाषी बाहुल्य क्षेत्र दार्जिलिङमा अलग्गै गोर्खाल्याण्डको सम्बन्धमा वार्ता गर्न नयां दिल्ली पुगेको टोली रित्तो हात फर्किएको छ । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीको नेतृत्वको वार्ता टोलीले प्रधानमन्त्री मनमोहन सिंह ,कांग्रेस आई की अध्यक्ष सोनिया गान्धीसंग भेट्न समय नै नपाएको बताइएको छ । तर उनीहरुले विपक्षी भारतीय जनता पार्टीका नेताहरु , नेशनल कंग्रेस पार्टीका नेता शरद पवार र वित्त मन्त्री पी चिदम्बरम्संग भेट गरेका थिए ।
 बीजेपीका नेताहरु र शरद् पवारले गोर्खाल्याड राज्यको मागको पक्षमा आपुहरुको समर्थन रहेको बताएका थिए । यसैबीच मोर्चाका नेताहरु र गोर्खा टेरिटोरियल एडमिनिष्ट्रेशन जिटिएका निर्वाचित सदस्यहरुले विमल गुरुङको राजीनामा पछि प्रमुख कार्यकारी पद चयनको सम्बन्धमा बैठक गर्दैछन् । मोर्चाले नाम नदिए जिटिएका निर्वाचित सदस्य तथा गायक दुर्गा खरेललाई कार्यकारी प्रमुख बनाउने योजनामा बंगाल सरकार रहेको स्थानिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
यो खबरसंगै मोर्चाबाट आक्रमण हुन सक्ने डरले खरेल र उनका केही साथीहरु घर छोडेर भागेको समाचारमा जनाइएको छ । 
 शुक्रवार मात्र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले गोर्खा जनमुक्ति मोर्चालाई तीन दिन भित्र आन्दोलन फिर्ता नलिए कानुन अनुसार कारवाही गर्न आफु पछि नहट्ने बताउनु भएको थियो । गत १९ गतेबाट अनिश्चितकालीन आमहड्तालमा उत्रिएको मोर्चाले भने जनताले नै कफ्र्यू लगाउने चेतावनी दिएको छ ।
 भारतको सत्तारुढ कंग्रेस आई गठबन्धनले आन्ध्र प्रदेशबाट अलग्गै तेलंगना राज्य बनाउने घोषणा गरेपछि लामो समय देखिको गोर्खाल्याण्डको माग थप चर्किएको हो । पश्चिम बंगाल राज्यभित्र रहेको यस क्षेत्रमा अलग राज्यका लागि दुई दशकदेखि भएको आन्दोलनमा थुप्रैको मृत्यु भैसकेको छ ।
Agencies