काठमाडौं । मधेशी जनअधिकार फोरम नेपाल नेतृत्वको ८ दलीय मोर्चा र उच्चस्तरीय राजनीतिक समिति बीच आज भएको वार्ता सहमति नजिक पुगेको छ ।
वार्तामा ४ बुँदामा दुबैपक्ष सहमति नजिक पुगे पनि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने र निर्वाचन क्षेत्र निर्धारणका बारेमा भने सहमति हुन सकेन ।
चार दलका नेताहरु संविधानसभामा समानुपातिक सिट संख्या बढाउन, फोटोसहितको मतदाता नामावलीका लागि म्याद थप गर्न, २५ बुँदे बाधा अड्काउ फुकाउ संशोधन गर्न र उच्चस्तरीय समितिलाई निष्क्रिए पार्न सहमत भएका बैठकपछि एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।
नयाँवानेश्वरमा भएको वार्तामा असन्तुष्ट दलबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी थिए ।
८ दलीय मोर्चासँगको वार्तापछि समितिले आजै बेलुका अशोक राई नेतृत्वको संघीय समाजवादीसँग पनि वार्ता गर्दैछ ।
समितिले आज र भोलि असन्तुष्ट दलहरुसँग हुने वार्तालाई निर्णायक भनेको छ ।
RSS