तस्बिर साभार: नेपालमदरडटकम
पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान तीन बजे निधन भएको छ ।
काठमाडौं । पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित सिंहको विहान तीन बजे निधन भएको अस्पतालले जनाएको छ । सिंहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि धापासीस्थित निवासमा राखिएको छ ।
उहांको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैछ । सिंहलाई उहांको ईच्छा बमोजिम गम्भीर अवस्थामै एयर एम्बुलेन्समार्फत मंगलबार राती भारतबाट नेपाल ल्याएर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । ७२ वर्षिय सिंहको एक महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गराइएपनि स्वास्थ्यमा कुनै सुधार हुन सकेको थिएन ।
पञ्चायतको अन्त्यतिर प्रभावशाली प्रधानमन्त्री रहनु भएका मरिचमान सिंह राष्ट्रबादी ब्यक्तित्व हुनुहुन्थ्यो । नेपालमा पञ्चायती शासनविरुद्ध २०४६ सालको जनआन्दोलन शुरु भएको बेला भारतले नेपालविरुद्ध नाकाबन्दी गरेपछि जनजीवन अस्तव्यस्त हुन थालेपछि उहाँले चीनबाट हवाईजहाजमार्फत अत्यावश्यक सामग्री ल्याउने प्रयाससमेत गर्नुभएको थियो ।
उहाँ २०५६ सालको आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारसमेत बन्नुभएको थियो ।
नेपालमै मर्ने इच्छा थियो मरिचमानको
दीपक दाहाल, नागरिक
फोक्सोको क्यान्सरबाट पीडित पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले एक साताअघि जेठा छोरा अनिललाई डाकेर भने, ‘अब म बाँच्दिनँ जस्तो छ, मलाई यहाँ अर्काको देशमा मर्नु छैन, तुरुन्त नेपाल लैजाओ।’ झन्डै एक महिनादेखि नयाँ दिल्लीको मेदान्ता अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय सिंहले तारन्तार नेपाल फर्कने हठ गर्न थालेपछि उनका छोरा बाध्य भए। उनी आफ्ना बुवालाई अस्पतालबाट ‘डिस्चार्ज’ गराउन पैसाको बन्दोबस्त र एअर एम्बुलेन्सको प्रबन्ध मिलाउनतिर लागे।
यहीबीच सोमबार रातिदेखि सिंहलाई कृत्रिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर) मै राख्नुपर्यो। मंगलबार साँझ एक्कासि उनको रक्तचाप घट्यो। उनी बोल्नै नसक्ने भए। अनिल हड्बडाए। औषधि खुवाएर झन्डै दुई घन्टामा रक्तचाप सुधि्रएपछि उनी बाबुको इच्छाअनुसार छिटोभन्दा छिटो नेपाल फर्काउने चाँजो मिलाउन थाले।
मंगलबार राति नै सिंहलाई एअर एम्बुलेन्सभित्र भेन्टिलेटरमै राखेर काठमाडौं ओरालियो। र, सोझै थापाथलीको नर्भिक अस्पताल भर्ना गरियो। सँगै आएका मेदान्ताका दुईजना डाक्टर फर्किसकेका छन्।
‘बोल्न सक्ने हुँदासम्म बुवाले धेरैपटक ‘मलाई यहाँ नराख नेपाल लैजाओ’ भन्नुभयो,’ भेन्टिलेटरमा राखिएका बाबुलाई कुर्न नर्भिकमा बसिरहेका छोरा अनिलले बुधबार नागरिकसँग भने, ‘अब जे हुन्छ, नेपालमै हुन्छ, बुवाको इच्छा पनि यही हो।’
सिंहको उपचारमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपाने र छाति रोग विशेषज्ञ डा. रमेश चोखानीसहितको टोली खटिएको छ। क्यान्सरका कारण उनको फोक्सोले काम गर्न छाडे पनि अन्य अंगले काम गरिरहेको डाक्टरहरूले बताएका थिए।
‘हामी लास्ट सेकेन्डसम्म प्रयास छाड्दैनौं,’ लामो समयदेखि सिंहको उपचारमा संलग्न डा. न्यौपानले नागरिकसँग भने, ‘मेडिकल साइन्समा सधैं चमत्कारको सम्भावना हुन्छ, हामी त्यसैको आसमा छौं।’
उनका अनुसार तीन महिनाअघि फोक्सोमा सुरु भएको संक्रमण हालसम्म नियन्त्रणमा आउन सकेको छैन। त्यही संक्रमण नियन्त्रण गर्न थालेको उपचारले काम नगरेपछि परीक्षण गर्दै जाँदा क्यान्सर प्रमाणित भएको थियो। मेदान्ताले नै क्यान्सर पुष्टि गरेको हो। उनी उतै भर्ना भएर उपचार गराउन भने चाहन्थेनन्। परिवारकै करबलले मेदान्तामा भर्ना गरिएको अनिल बताउँछन्।
‘हजारदेखि १० हजारको बीचमा हुनुपर्ने सेता रक्तकोष बुधबार ६४ हजार पुगेको छ,’ न्यौपानेले भने, ‘यसले शरीरमा रहेको उच्च संक्रमणको संकेत गर्छ।’
भेन्टिलेटरमा राख्दा पनि शरीरमा अक्सिजनको मात्रा सन्तुलनमा नभएको डाक्टरहरूले बताएका थिए। रक्तचाप घट्दै गएपछि चलाइएको औषधिले पनि सन्तुलनमा राख्न सकिएको थिएन। बुधबार रक्तचाप ६४/५३ हाराहारी थियो। एक्सरे हेर्दा फोक्सोमा क्यान्सर भएको दायाँतिरको माथिल्लोबाहेक अरू भाग राम्रै देखिएको न्यौपानेले जानकारी दिए। सिंहको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भयो ।
‘अहिलेसम्म उहाँको एउटा मात्रै अंग फेल भएको हो,’ उनले हिजो बेलुकी भनेका थिए, ‘धेरै अंग फेल नभएसम्म आशा बाँकी रहन्छ।’
लगातार चुरोट तानिरहने सिंहमा दुई वर्षअघि उच्चरक्तचापको समस्या देखिएको थियो। मिर्गौलामा पानी जमेको पनि देखियो। नर्भिकमै जचाएर मिर्गौलाको पानी निकालियो। औषधि खाएपछि रक्तचाप नियन्त्रणमा आयो।
तीन महिनाअघि ज्वरो आएर उनी थलिए। डाक्टरहरूले सुरुमा पिसाब संक्रमणको शंका गरे। एन्टिबायोटिक्स दिएर रगत ‘कल्चर’ गर्न पठाए। संक्रमण नघट्ने, तौल मात्र घट्ने भएपछि बृहत परीक्षण सुरु गरियो। संक्रमणको कारण खोज्न गरिएको रगत कल्चरको रिपोर्ट नआउँदै सेता रक्तकोष बढेको देखियो। छातिमा दाग पनि फेला पर्योन। डाक्टरहरूले त्यसपछि बल्ल क्यान्सर वा क्षयरोगको शंका गरे।
‘सबै परीक्षण रिपोर्ट नेगेटिभ आयो, तैपनि संक्रमण घटेन,’ न्यौपानेले भने।
त्यसपछि नेपालमै गर्न सकिने ‘ब्रोङ्कोस्कोपी’ गरियो। त्यसबाट पनि क्यान्सर देखिएन। डाक्टरहरूले ‘सिटी