दीपक दाहाल/प्रशान्त लामिछाने, नागरिकन्युज
काठमाडौं – सरकारले दिवंत पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई नेपाली सेनाको तोप सहितको सलामी नदिने भएको छ। राष्ट्रपतिमा उम्मेद्वारी दिएर पराजित भएका रामराजा प्रसाद सिंहलाई समेत तोप सहितको सम्मान दिएको भए पनि पूर्वप्रधानमन्त्री सिंहलाई भने प्रहरीको एक टुकुडीले शोक सलामी मात्र दिने तयारी गरेको छ।
मन्त्रिपरिषदको जारी बैठकले प्रहरी सलामी सम्मान दिने निर्णय गर्ने निश्चित गरिएको स्रोतले बतायो। ‘प्रहरी सलामीको सम्मान दिने कुरा भएको छ’, मन्त्रिपरिषद स्रोतले भन्यो- ‘नरबहादुर कर्माचार्यलाई दिएजस्तै सम्मान दिन सबै सहमत देखिएका छन्।’
११ बजेदेखि जारी बैठकको बीचैमा उठेका मन्त्रिपरिषद अध्यक्ष रेग्मी श्रद्धाञ्जली दिन धापासीस्थित निवास पुगेका थिए। त्यहाँ उनले कुन किसिमको सम्मान सरकारले दिँदैछ भन्ने बारे परिवारजनलाई केही बताएनन्।
‘प्रहरी सम्मानअनुसार बिगुल बजाएर सोक सलामी दिइनेछ’, स्रोतले नागरिकन्युजलाई बतायो।
पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको ७२ वर्षको उमेरमा आज बिहान ३:३६ मा निधन भएको थियो। फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको मुटुले काम गर्न छाडेपछि डाक्टरले उनलाई मृत घोषित गरेका थिए।
झन्डै एक महिनादेखि नयाँ दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका पूर्व प्रधानमन्त्री श्रेष्ठलाई मंगलबार राति एयर एम्बुलेन्समार्फत् काठमाडौं ल्याइएको थियो।
अहिले उनको पार्थिव शरीरलाई सिंहको धापासीस्थित निवासमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ। ‘बिहान ७ बजेदेखि श्रद्धाञ्जलिका लागि घरैमा राखिएको छ’, छोरा अनिलले नागरिकन्युजसँग भने। ४ बजे उनको प्रहरी सम्मान सहित अन्तिम संस्कार गरिनेछ।
२०४२ देखि २०४६ सम्म प्रधानमन्त्री रहेका सिंह पछिल्लो समय राजनीतिमा निस्क्रिय थिए। झन्डै एक महिना अघि उपचारका लागि भारतको मेदान्त अस्पताल लगिएका उनले नेपालमै मर्ने इच्छा गरेका थिए। ‘अब म बाँच्दिनँ जस्तो छ मलाइ यहाँ अर्काको देशमा मर्नु छैन, तुरुन्त नेपाल लैजाओ भन्नुभयो अनि हामीले उहाँलाई नेपाल फर्काएका थियौं’, छोरा अनिलले सुनाए।
पूर्व प्रधानमन्त्रीलाई श्रेष्ठलाई एमाओवादी नेता बाबुराम भट्टराई, राप्रपा नेपालका अध्यक्ष कमल थापा, माओवादी नेता देव गुरुङ धापासी पुगेर अन्तिम श्रद्धाञ्जली दिएका छन्। सरकार मन्त्री तथा नेताहरु श्रद्धाञ्जली दिन जाने क्रम जारी छ।