मकवानपुरको हेटौंडामा पनि बर्ड फ्लुको संक्रमण फेला

हेटौंडा  । मकवानपुरको हेटौंडामा पनि बर्ड फ्लुको संक्रमण फेला परेको छ । हेटौँडा ८, कमाने र हेटौंडा ६ चौघडामा बर्ड फ्लुको संक्रमण देखिएको हो । कमानेको हेमबहादुर गुरुङको हिमाली पोल्ट्री फर्म र चौघडाकी शान्ति राईको घरमा पालेको कुखुरामा बर्ड फ्लु भएको पुष्टी भएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रवक्ता डा. चेतनारायण खरेलले हामीलाई जानकारी दिए ।
यही २७ गतेदेखि धमाधम कुखुरा मर्न थालेपछि गुरुङले परीक्षणका लागि मरेका कुखुरा पशु सेवा कार्यालयमा पठाएका थिए । फर्ममा रहेको मध्ये करिब एक हजार कुखुरा पाँच दिनमै मरेका थिए । 
त्यस्तै, राईले घरमा पालेको ३६ वटा कुखुरा मरेका छन् । 
उता, जिल्ला बर्ड फ्लु समन्वय समितिले बर्ड फ्लु संक्रमण फेला परेको पाँच सय मिटर आसपासका पंक्षी र पंक्षीजन्य पदार्थ नष्ट गरिने जनाएको छ । 
त्यसक्षेत्रमा पशु चिकित्सकको नेतृत्वमा दुई टोली परिचालन गरी करिब सात हजार कुखुरा नष्ट गरिने बताईएको छ । 
मकवानपुरमा एक हजार तीन सय पोल्ट्री व्यवसायीको झण्डै ४० करोड लगानी छ ।
RSS