केही समययता राजधानी वरपरका कुखुरा फार्महरुमा बर्ड फ्लु फैलिएपछि कुखुरा तथा अण्डा नष्ट गर्ने अभियानबाट करीब पाँच अर्ब रुपियाँको नोक्सानी भएको सरकारी अधिकारीहरुको अनुमान छ।
केही समययता राजधानी वरपरका कुखुरा फार्महरुमा बर्ड फ्लु फैलिएपछि निकै फस्टाएको भनिएको करीब ६० अर्ब रुपियाँको लगानी भएको कुखुरापालन व्यवसाय चौपट भएको व्यवसायीहरुले बताएका छन्।
कुखुरापालन व्यवसायलाई नेपाललाई कुखुराको मासुमा करीब आत्मनिर्भर नै बनाएको जानकारहरुको भनाइ छ।
यो व्यवसायलाई पहिलेको अवस्थामा ल्याउन सरकारले ऋण र ब्याजमा सहुलियत तथा पंक्षी वीमा गराउने विषयमा छलफल गरिरहेको अधिकारीहरुले बताएका छन्।
चरामा लाग्ने एकप्रकारको रुघाजस्तो रोग बर्ड फ्लु एकपछि अर्को फार्ममा फैलिएपछि त्यसमा लागेका कतिपय व्यवसायीहरु अचेल विचलित भएका छन्।
त्यसमाथि नष्ट गरिएका कुखुराको क्षतिपूर्ती नाममात्रको दिईंदा उनीहरु अब पुन: व्यवसायमा फर्कन नसक्ने बताउँछन्।
आफ्नो करोडौं रुपियाँको लगानी डुबेको बताउने नेपाल पंक्षी महासंघका उपाध्यक्ष समेत रहेका एकजना व्यवसायी नारायणहरि खत्रीले घाउमा मल्हम लगाउनुको साटो व्यवसायी भनेको बेचमान नै हुन् भन्ने प्रचार सरकार र मिडियाबाट भएको बताए।