काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको पिच बारम्बार उप्किन थालेपछि नागरिक उड्यन प्राधीकरणले ठूला जहाजको उडान र अवतरणमा प्रतिबन्ध लगाएको छ । बिमानस्थलको धावनमार्ग जहाजको मापदण्डअनुसारको मात्र रहेको र यसमा ठूला जहाज ल्याउँदा बारम्बार समस्या भएको प्राधिकरणको दाबी छ ।
प्राधीकरणका महानिर्देशक रतिचन्द्रलाल सुमनले हाम्रो क्षमताबारे उनीहरुलाई जानकारी गराए पनि त्यो बाध्यकारी नभएको बताए । प्राधीकरणले एक साताअघि सबै बिमान कम्पनीलाई अबदेखि ठूला विमान नल्याउन पत्राचार गरेको उनको भनाइ छ । प्राधिकरणको यो निर्णयपछि अब मलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा २ सय ५० सिट क्षमताभन्दा बढीका जहाज आउन पाउने छैनन् ।
यसअघि ३ सय ५० सिट क्षमता जहाजसमेत आइरहेका थिए । अहिले थाई, कतार र कोरियन एयरले ठूला जहाजबाट सेवा सञ्चालन गरिरहेका छन् । प्रतिबन्धपछि सबै विमान कम्पनीले मध्यम जहाज मात्र नेपाल पठाउनु पर्ने छ ।