७ दिनको म्याद थप्न उच्चस्तरीय राजनीतिक समितिले गरेको आग्रह निर्वाचन आयोगद्धारा अस्वीकार

बालकृष्ण अधिकारी, नागरिकन्युज 
काठमाडौं – फोटोसहितको मतदाता नामावली संकलनका लागि फेरि ७ दिनको म्याद थप्न उच्चस्तरीय राजनीतिक समितिले गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेको छ । 
नयाँ बानेश्वरमा आज बसेको राजनीतिक समितिको बैठकले मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चासँगको सहमति अनुसार मतदाता नामावली संकलनका लागि थप ७ दिन म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
बैठकपछि राजनीतिक समितिका संयोजक सुशील कोइरालासहित शीर्ष नेताहरुले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहित पदाधिकारीलाई भेटेर म्याद थप्न आग्रह गरेका थिए।
तर, आयोगका पदाधिकारीहरुले भने मंसिर ४ मा निर्वाचन गर्ने हो भने कार्यतालिका परिर्वतन गर्न नसकिने भन्दै म्याद थप्न नसकिने बताएका थिए। निर्वाचन आयोगले भदौ १ गतेदेखि छुटेकाहरुलाई फोटोसहितको नामावली दर्ता गराउन ७ दिन म्याद थप गरिसकेको छ।