नवलपरासी – संविधानसभा निर्वाचन नजिकिएपछि नवलपरासीका ठूला दललाई उछिन्दै राप्रपा नेपालले ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ ।
सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति बैठकले १ नम्बर क्षेत्रमा टेकहरि पौडेल र दुर्गादेवी गुरुङको नाम घोषणा गरेको छ । त्यसैगरी २ मा राजकुमार श्रेष्ठ, घनश्याम अधिकारी र कृष्ण न्यौपानेमध्येबाट एकजनाले प्रत्यक्षतर्फ निर्वाचन लड्ने पक्का भएको छ । उम्मेदवारीमा हानथाप नरहेको राप्रपाले समानुपातिकतर्फ नेता लोकनाथ लामिछाने, लक्ष्मी सापकोटा लामिछाने र रवीन्द्र कँडेलको नाम सिफारिस गरेको छ ।
त्यसैगरी ३ मा दिवाकर न्यौपाने र बुद्धिकुमार चन्द बोहोरा, ४ बाट छोटेलाल यादव, पारस जयसवाल र नारायण श्रेष्ठमध्ये एकलाई उम्मेदवार बनाउने भएको छ । क्षेत्र ५ मा पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका ओमबहादुर सिंह र दानबहादुर चौधरीलाई छनोट गरेको छ ।
तमलोपाका नेता हृदयेश त्रिपाठीको वर्चस्व रहँदै आएको १ नम्बर क्षेत्रमा मधेसमा प्रभावशाली मानिने गौरीशंकर कोहारको नाम सिफारिस गरेको छ ।
RSS