पहिरोले बाटो भत्किएर गाडी ठप्प भएपछि धारापानी र ढाकावाङ गाविसमा खाद्यनको अभाव, सडक मर्मत गर्न ८० लाख

– वीरेन्द्र केसी

 
सन्धिखर्क, अर्घाखाँची। सडक पहिरोले भत्किएर गाडी ठप्प भएपछि दुई गाविसमा खाद्यनको अभाव भएको छ ।

 


 

जिल्लाको पश्चिमी क्षेत्रका धेरै जनसंख्या भएका धारापानी र ढाकावाङ गाविसमा खाद्यनको अभावले सर्वसाधारण मर्कामा परेका छन । सन्धिखर्क – किमडाँडा – धारापानी, ढाकावाङ हुदै प्युठानको सदरमुकाम जोडने सडक अन्तरगत किमडाँडाको पकलेमा भत्किएको सडक मर्मत गर्न जिल्लाकै सबैभन्दा मोटो रकम खर्च हुने अनुमान छ ।

 

असार अन्तिम साता आएको वर्षाले किमडाँडा स्थित पकलेमा झण्डै ५० मिटर सडक माथिबाटै पहिरोले लगेपछि खाद्यन बोक्ने सवारी साधन चल्न सकेका छैनन् । बाटो भत्किदा गाउँमा खाद्यनको अभाव भएको छ, धारापानीका पुर्वगाविस अध्यक्ष सागर केसीले भने, गाउँका पसलमा सामान रित्तिएका छन, सबैभन्दा समस्या विरामीलाई भएको छ । एक जना विरामी महिलालाई बोकेर ल्याउदा ल्याउदै बाटोमै मृत्यु भयो ।


सन्धिखर्क – किमडाँडा – धारापानी, ढाकावाङ हुदै प्युठानको सदरमुकाम जोडने यो जिल्लाकै मुख्य सडक हो ।

 

सदरमुकामबाट यो बाटोमा दैनिक १५ वटा सवारी जीप चल्ने गर्छन । दुई गाविसमा सदरमुकामको ३० प्रतिशत व्यापार खपत हुने अनुमान छ । पहिरोले सडकको नाम निशाना नै नरहने गरी लगेको छ । पहिरोले तीन घर समेत जोखिममा छन । विश्व बैकको अनुदानमा आरआर आईडिपीले ग्राबेलको काम गरिरहेको बेला सडक भत्किएको हो ।

 

उसले भत्किएको सडकलाई मर्मतको लागि खर्च उपलब्ध गराउन नमान्दा समस्या भएको केसीको दावी छ । ठुलो पहिरो गएकाले लगानी पनि ठुलै खर्च हुने अनुमान छ । भत्किएको सडकलाई मर्मत गरी गाडी चल्ने बनाउन ८० लाख रुपैया लाग्छ, जिविसका ईन्जिनियर पुष्परत्न रंजितले भने, धेरै तलबाट चेक ड्याम बनाएर उठाउदा खर्च धेरै लाग्छ । पहरो भएकाले सडक माथि खन्ने ठाउँ छैन सडक तलैबाट वाल उठाएर पुरानै अवस्थामा ल्याउन यति खर्च लाग्ने अनुमान गरिएको छ । भत्किएको सडकलाई छाडेर अरु ठाउँबाट लैजाने बैकल्पिक बाटो नभएकाले समस्या भएको उनले बताए । सडक कहिलेसम्म निर्माण भएर गाडी चल्छन भन्ने अन्योल नै छ ।

 

गाउँमा खाद्यन अभाव सगै सदरमुकाम आवत जावत गर्न सर्वसाधारणलाई कठिनाई भएको छ । सदरमुकाम आउन करिब १० घण्टा पैदल हिडनुपर्ने बाध्यता भएको गाउँलेको गुनासो छ । थोरै खर्चले मर्मत गर्न गाह्रो परेको छ । मर्मत गर्नको लागि गाउँलेको भेलाले सागर केसीको अध्यक्षतामा मर्मत समिति गठन भएको छ । मर्मत गर्न काम शुरु गर्न थालेका छौ, केसीले भने, अहिलेलाई जिविसले ३ लाख, धारापानी र ढाकावाङ गाविसले तीन लाख, किमडाँडाले १ लाख रुपैया  र गाडी मालिक र सर्वसाधारणसँग चन्दा उठाएर ९ लाख १४ हजारको ईष्टिमेट गरेर बाटोको निशाना खोज्ने कोशिस गरेका छौ । दुई गाविसका सर्वसाधारणले ५० भन्दा बढी जीप किनेका छन । मोटो रकम चाहिने भएकाले सडक निर्माणको लागि संकट परेको उनले गुनासो गरे ।

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु