इपीएस मार्फत कोरिया जाने आवदेन भर्न काठमाडौं, धरान र बुटवलमा हजारौंको भीड

काठमाडौं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरिया जान चाहने युवाहरुका लागि आजदेखि आवेदन फारम दर्ता गर्ने कार्य सुरु भएको छ । आज देखि भाद्र ८ गतेसम्म खुला रहने आवेदन फारम दर्ता गर्न काठमाडौंको सानो गौचरन खेलमैदान, ज्ञानेश्वर र सिदार्थ वनस्थली इन्स्टिच्युट, कीर्तिपुरको ल्यावरोटरी माध्यमिक विद्यालय लगायतका क्षेत्रमा हजारौं युवायुवतीको भीड लागेको छ ।


काठमाडौं बाहिर भने धरान र बुटवलवाट आवेदन फारम दर्ता गर्न सकिनेछ । काठमाडौंको सानो गौचरनमा आवेदन फारम दर्ता गर्नेहरुले हिजो दिउँसो १२ बजेदेखि नै लाइनमा बसेको बताए ।
 
वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाका अनुसार परीक्षाको समय र स्थान फेरि अर्को सूचनामार्फत जानकारी गराइने छ । आवेदन फारम दर्ता स्थलमा निःशुल्क पाइने भए पनि परीक्षा शुल्कबापत २४ अमेरिकी डलर अर्थात २४ सय ५० रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।


१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले परीक्षाका लािग आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले यसपटक सञ्चालन हुने भाषा परीक्षामा ८ हजार २ सय जना उतीर्ण हुने अनुमान गरेको छ ।


तीमध्ये ४ हजार ६ सय जना उत्पादनमुलक क्षेत्रमा र ३ हजार ६ सय जना कृषि र पशुपालन क्षेत्रमा काम पाउने अनुमान गरिएको छ ।


नेपाल र कोरियाबीच श्रमसम्बन्धी इपीएस सम्झौता सन् २००७ को जुलाईमा भएको हो । कोरियाले विभिन्न १५ राष्ट्रसँग यस्तो सम्झौता गरेको छ ।

 

RSS, IMAGECHANNEL