नेकपा एमाले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनलाई केन्द्रित गरेर मतदाता अभियानमा

काठमाडौं – नेकपा एमालेले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनलाई केन्द्रित गरेर ‘मतदाताका बीचमा नेकपा एमाले’ अभियान चलाउने भएको छ।

 

पार्टी मुख्यालय बल्खुमा बसेको संविधानसभा निर्वाचनकेन्द्रित स्थायी समिति बैठकले अभियान चलाउने निर्णय गरेको हो। विगतको चुनावी अभियान समीक्षा गर्दै एमालेले पार्टी प्रवेश कार्यक्रमलाई जोड दिन नयाँ अभियान चलाउन लागेको हो।

निर्वाचनअघि मतदाताको घरदैलोमा पुग्नेगरी अभियान सञ्चालन गर्न लागेको सचिव शंकर पोखरेलले बताए ‘अभियानअन्तर्गत तराईका जिल्लामा मधेसी समुदायलाई लक्षित गरी विशेष अभियान सञ्चालन गरिनेछ,’ उनले भने, ‘अभियानक्रममा आम मतदाताको स्थिति विश्लेषण गरिन्छ। तटस्थ मतदाता र वर्ग तथा समुदाय लक्षित विशेष कार्यक्रम पनि सञ्चालन हुन्छ।’

 

उनले अभियानसम्बन्धी विस्तृत कार्ययोजना निमार्णको अधिकार स्थायी समितिले जिल्ला कमिटीलाई प्रत्यायोजन गरेको जानकारी दिए।

 

जारी बैठकले आन्तरिक एकतामा असर पुग्ने गतिविधि नगर्न र सिंगो पार्टी पंक्ति एकतावद्ध रूपमा निर्वाचन अभियानमा जुट्न निर्देशन पनि दिएको छ। युवा संघका दुई गुटबीचको विवादबारे भने सो बैठकले कुनै निर्णय गर्न सकेको छैन। – नागरिक