सिरियामा जारी हिंसाका कारण लाखौं बालबालिका शरणार्थी

न्यूर्योक  । संयुक्त राष्ट्रसंघ र युनिसेफले सिरियामा जारी हिंसाका कारण करिव १० लाख बालबालिका शरणार्थी बनेको जनाएका छन् । हालै सार्वजनिक प्रतिवेदनमा राष्ट्रसंघ र युनिसेफले २० वर्षयता यति ठूलो संख्यामा शरणार्थी बनेको पहिलो घटना भएको पनि उल्लेख गरेका छन् । 
सिरियाबाट पलायन भएका बालबालिकाहरु इराक, लेवनान, जोर्डन, टर्की र इजिप्टमा शरणार्थीका रुपमा रहेका छन् भने केही बालबालिका अफ्रिका र युरोप पलायन भएका छन् । 
सिरिया छाडेका लाखौं बालबालिका पठनपाठनबाट बन्चित बनेको पनि युनिसेफले जनाएको छ । पलायन भएका अधिकांश बालबालिका ११ वर्ष मुनिका रहेका र उनीहरुको अवस्था निकै नाजुक बन्दै गएको प्रतिवेदनले औंल्याएको छ । 
पर्याप्त आर्थिक सहयोग नपाउँदा उचित खानपिनबाट समेत उनीहरु बन्चित छन् । सिरियामा जारी हिंसामा मारिने १ लाख सर्वसाधारणमा १० प्रतिशत बालबालिका रहेको पनि प्रतिवेदनले जनाएको छ ।
AGENCIES, IMAGECHANNEL