अर्घाखाँचीमा एचआईभी संक्रमितको संख्या भयानक, श्रावण महिना सम्म १११ जना एचआईभी संक्रमित, २६ जनाको मृत्यु (सबै गाबिसको विवरण सहित)


 

– पार्वता श्रेष्ठ 



सन्धिखर्क,  अर्घाखाँची । अर्घाखाँची जिल्लामा दिनप्रतिदिन एचआईभी संक्रमितको संख्या बढ्दै गएको छ  । 



विभिन्न संघ संस्थाले गरेको अध्ययन र जनचेतना मूलक कार्यक्रमले गर्दा जिल्लामा लुकेर बसेका एचआईभी संक्रमितहरु पत्ता लाग्न थालेका हुन् । जिल्ला मै एचआईभीको रगत परिक्षण गर्ने व्यवस्था भएपछि एचआईभीको रगत्त जाँच गर्नेको संख्या बढ्दै गएको हो । एचआईभीको क्षेत्रमा काम गर्दै आएको संस्था सक्रिय सेवा समाज, प्रेरणा र जिल्ला स्वाश्थ्य कार्यालयको सहयोगमा संचालित एचआईभीको रगत्त परिक्षण केन्द्र भिसिटी सेन्टरमा जाँच गरी श्रावण महिना सम्ममा १११ जना एचआईभी  संक्रमित पत्ता लागेको जिल्ला एड्स समन्वय समितीका संयोजक कविन्द्र रेग्मीले जानकारी दिनु भयो ।



यस जिल्लामा २०७० श्रावण सम्मको तथ्याङ्क हेर्दा एचआईभी संक्रमित यो वर्षमा ११ जना नयाँ थप भई टोटल संख्या १११ जना पुगेकोमा त्यसमा ५६ पुरुष, ५५ महिला रहेकोमा यसै मध्ये ९ जना बालबालिका समेत रहेको शन्देस सहयोग समूहका कोषाध्यक्ष पार्वती बन्जाडेले जानकारी दिनु भयो । यी १११ जनामा हाल सम्म २६ जनाको मृत्यु भई सकेकोमा महिला १० ,पुरुष १६ रहेका छन् । एचआईभी एन्टीबोडी भाइरसलाई निष्कृय गरि प्रतिरक्षाशक्तिलाई बढाउनको लागि एआरभी औषधि जिल्लामा ६१ जनाले खादै आएको बन्जाडेले बताउनु हुन्छ । एचआईभी भन्ने वित्तिकै अझैपनि समाजमा डराउने ,लाज मान्ने ,नराम्रो व्यवहार गर्नेलाई मात्र एचआईभी हुन्छ भन्ने संकाले  यसलाई लुकाएर बस्ने र अन्तिममा एकदमै ग्रस्त भइसकेपछि  भिसिटी सेन्टरमा रगत परिक्षण गर्न आउने गरेको बताउनु हुन्छ बन्जाडे ।



 यसरी जिल्लाको तथ्याङ्कलाई हेर्दा ६ वर्षको बच्चा देखि लिएर ७० वर्ष सम्मका व्यक्तिमा एचआईभी रहेको पाइएको छ भने बढी  २० वर्ष देखि ४० वर्ष सम्मको व्यक्तिमा रहेको छ । विना गल्ती विना दोष घरगृहणी ५० जना महिला एचआईभीको शिकार बनेका छन् भने अझ ती नावालक  ९ जना बच्चाले समेत एचआईभीको भाइरस बोकेर हिड्न परेको संक्रमित एक बच्चाले बताए ।

 

अहिले सम्म जिल्लाका ९ वटा गाउ विकास समिती असुरकोट, नुवाकोट, भगवती, धनचौर, खनदह, पटौटी, सिद्धारा, पणेना, र सिमलपानीमा एचआईभी संक्रमित नरहेको  पार्वती बन्जाडेले बताउनुहुन्छ  भने एचआईभी संक्रमितको संख्या बढी रहेको गाविस मध्ये हाल सम्म हसंपुर १० जना, ठाडा १० जना, खाँचीकोट ८ जना, जुकेना ५ जना, छत्रगन्ज ५ जना, वाङ्गला ५ जना, ढाकाबाङ्ग ४ जना, अर्घातोष ४ जना, केरुङ्गा ४ जना, बागी ४, चिदीका ३ जना, धातिबाङ्ग ३ जना, डिर्भना ३ जना, खिदीम ३ जना, खन ३ जना, मरेङ्ग ३ जना, ठूलापोखरा ३ जना, सन्धिखर्क ३ जना, मैदान २ जना, जलुके २ जना, गोखुङ्गा २ जना, पोखराथोक २ जना, ढिकुरा २ जना, धारापानी २ जना, अडगुरी २ जना, पाली २ जना, नरपानी २, अर्घा २ , किमडाडाँ २, सितापुर १, बल्कोट १ जना, खिल्जी १ जना, सुर्वणाखाल १ जना एचआईभी संक्रमितको संख्या रहेको सक्रिय सेवा समाजका जिल्ला संयोजक बालकृष्ण खत्रीले जानकारी दिनु भयो । 




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु