भद्र शर्मा, (रासस)
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित १० जना उच्च अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ट्रान्सफरमर खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले ४१ करोड रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेले जानकारी दिए ।
यसैगरी म्यानपावर कम्पनीहरूले पेस गरेको झुठा विवरणलाई सही छ भनी प्रमाणित गर्ने ३५ कर्मचारीसहित ३९ जनालाई आइतबार विशेष अदालतले थुनामा राखी अनुसन्धान गर्न पन्ध्र दिनको म्याद दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका १७ कर्मचारी, १८ अन्य कर्मचारी र चार वैदेशिक रोजगार व्यवसायीलाई आज अदालत उपस्थित गराएपछि अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले सो आदेश दिएको उपरजिस्ट्रार केशवप्रसाद घिमिरेले जानकारी दिए ।
आयोगले विभागका ३५ जना कर्मचारीलाई गत शुक्रबार पक्राउ गरेको थियो ।
झुठा कागजातलाई आधार बनाई कम्युप्टरमा प्रविष्ट गर्ने, भाषा अनुवाद गर्ने र ठीक छ भनी फाइल पेस गरी वैदेशिक रोजगारीमा जाने ७७ जना नेपाली नागरिकलाई अनुमतिपत्र दिएको आरोपसहित अख्तियारले ती कर्मचारीलाई पक्राउ गरेको थियो ।