अर्घाखाँची ब्युरो
सन्धिखर्क, अर्घाखाँची । चुनावी माहोल गाउँमा तात्दै गएको छ । कसरी चुनाव आफनो हातमा ल्याउन सकिन्छ भन्दै एमाओवादी र एमालेले घर दैलो गाउँ अभियान पहिलो चरणको सम्पन्न गरिसकेका छन भने कांग्रेस खासै चहलपहल छैन ।
सुस्त गतिमा रहेको कांग्रेसले उम्मेदवार छनोट भएपछि भोट माग्न गाउँ जाने बताएपनि आन्तरिक विवाद चर्किदै गएको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि संभावित उम्मेदवारको चर्चा पनि शुरु भएको छ । एमाओवादी र राजमोले केन्द्रिय कार्यालयमा उम्मेदवारको नामावली पठाईसकेको छ । कांग्रेसका नेताहरु टिकट माग्न छुटाछुटै रुपमा काठमाडौ धाएका छन । आ-आफनो ढंगले सभापति सुशिल कोईराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायतका अन्य नेताहरु कहाँ धाईरहेका छन । एमालेले केन्द्रिय योजना अनुसार सिफारिस गर्ने दावी गरेको छ । जिल्लाका दुवै क्षेत्रमा तीनै दलको प्रतिष्प्रर्धाको संभावनाले चुनाव जित्नेमा उम्मेदवारमा पनि भर पर्ने बुझाई छ । एमाओवादीले दुवै क्षेत्रबाट संभावित १२ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं. १ बाट पुर्वमन्त्री टोपबहादुर रायमाझी, डिलाराम आचार्य, राजु नेपाली, कमल खनाल, ठाकुर विक र वैकल्पिकमा छमकुमारी खनाल र क्षेत्र नं. २ मा केन्द्रिय सदस्य चन्द्र बहादुर खडका, विष्णुहरी शर्मा, गोविन्द केसी, हिमकला गैरे, खुमानन्द घिमिरे र भक्तबहादुर पुनलाई बैठकको निर्णयले सिफारिस गरेको एमाओवादी नेता ठाकुर विकले बताए । रायमाझी र शर्माको निश्चित जस्तै भएको एमाओवादी स्रोतको दावी छ । २०५६ को निर्वाचनमा एमाले र राजमोको एकीकरणले क्षेत्र १ मा राजमोका डिलाराम आचार्य र २ मा एमालेका डा.डिल्लीराज खनालले जितेका थिए । शान्ति प्रक्रियापछि एमाओवादीमा प्रवेश गरेका आचार्यको नाम सिफारिसमा परेपनि टिकट पाउने संभावना नरहेको र खनालको सिफारिस नै एमाओवादीले गरेन ।
जिल्लामा चौथो शक्ति राजमोले क्षेत्र नं. १ बाट महासचिव सन्तबहादुर नेपाली, केन्द्रिय सदस्य सागर केसी, कल्पना पोखरेल र २ बाट केन्द्रिय सदस्य शेरबहादुर विसी, जिल्ला अध्यक्ष झविलाल थापा, सकुन्तला रानालाई सिफारिस गरेको छ ।
एमाओवादी, एमाले र राजमोले चुनावी अभियान लिएर घरदैलो अभियान सम्पन्न गरेका छन भने सुस्त गतिमा चुनाव प्रचारमा लागेको कांग्रेसले उम्मेदवारको पर्खाईमा बसेको छ । उम्मेदवार छनोट भएपछि गाउँ जाने उसले जनाएको छ । काग्रेस र एमालेका नेताहरु टिकटका लागि काठमाडौ धाएका छन । काग्रेसबाट क्षेत्र नं. १ मा डा.रामबहादुर विसी, विष्णु मुस्कान, निर्मला क्षेत्रीको नाम चर्चामा छ । २ बाट केन्द्रिय सदस्य पुष्पा भुसाल, पुर्वमन्त्री ढुण्डिराज शास्त्री, जिल्ला सभापति कमलप्रसाद भुसाल र बासुदेव आचार्यको नाम चर्चामा छ । विसीको र पुष्पाको निश्चित जस्तै भएको कांग्रेसका एक नेताले दावी गरे । एमालेबाट १ मा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, लक्ष्मण रायमाझी, भोजबहादुर शाहको र २ बाट डा. दुमन थापा, पुर्वजिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरे र पिताम्बर भुसालको नाम चर्चामा छ । क्षेत्रीले आफनो र भुसालको उम्मेदवार निश्चित जस्तै भएको दावी गरे । निर्वाचन क्षेत्र नं. १ मा तीन दलबीच कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । चुनावी चहलपहलसगै धेरैको ध्यान १ नम्बरमै छ । २०६४ को चुनावमा एमाओवादीका रायमाझी र काग्रेसबाट पुष्पा भुसालले जितेका थिए ।
बाबुराम भटराई निकट मानिने रायमाझीले जिल्लामा लुम्बिनी-सालझण्डी-ढोरपाटान सडक, सुर्खेत-पोखरा सडक देखि जिल्लामा कृषि, पर्यटन, पुर्वाधार विकास, सडक लगायत थुप्रै योजना जिल्लामा भित्राएकाले र एमाओवादीमा प्रवेश गर्नेको जनलहर भएकाले जित सुनिश्चित भएको नेता विकले दावी गरे । गाउँ अभियानपछि दुवै क्षेत्रमा जित्न सकिने एमाओवादी र एमालेको दावी छ निर्वाचनमा अलि सुस्त देखिएको काग्रेसले पनि जित्ने दावी गरेको छ । हाम्रो चुनावी प्रतिष्प्रर्धा काग्रेससँग हो, एमाओवादी केन्द्रिय सदस्य चन्द्र बहादुर खडकाले भने, एमालेको जनाधार कमजोर छ त्यसमा पनि धेरै कार्यकर्ता हाम्रो पाटीमा आएका छन । एमाले अध्यक्ष चेतनारायण आचार्यले जनमतका हिसाबले एमाओवादी अर्घाखाँचीमा तेस्रो शक्ति हो, चुनावी प्रतिष्प्रर्धा काग्रेससँगै हुने दावी गरे । उनले आफु उम्मेदवार नबन्ने बताए । १ मा रायमाझीलाई जित्न काग्रेसले डा. विसीलाई अगाडी सार्ने तयारीमा छ । एमाओवादी स्रोतका अनुसार काग्रेसबाट १ मा विसी र २ मा पुष्पा आएमा जित्न गाह्रो पर्ने र एमालेका उम्मेदवार कमजोरसगै जनमत भत्किदै गएकाले सजिलै जित्न सकिने ठहर गरेको छ ।
२०६४ को चुनावमा १ बाट उम्मदवार दिएका कांग्रेस केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मालाई हराउन पुर्वमन्त्री रेवतीप्रसाद भुसाल लागेको आरोपले काग्रेसमा नेताहरुबीच आन्तरिक द्धन्द्ध भएकाले जित्न सकिने एमाओवादीको ठहर गरेको छ । भुसालकै कारण द्धन्द्ध चर्किदै गएपछि आन्तरिक रुपमा काग्रेसका विभाजित छ । रेवतीकै कारण जिल्ला सभापति कमलप्रसाद भुसालको राजनीतिक भविश्य धरापमा पर्ने संकेत देखापरेको छ । ईमान्दार सभापतिको छवि रेवतीकै कारण घटदै गएको छ । काग्रेस भित्रको आन्तरिक कलहले चुनावको माहोल आफनो पक्षमा आउने र जित्ने आशामा एमाओवादी र काग्रेस छन ।
टोपबहादुर रायमाझीलाई शक्तिशाली र लोकप्रिय उम्मेदवारको रुपमा लिईएको छ । एमालेका क्षेत्रीले भने जनमतका हिसाबले काग्रेससँगै प्रतिष्प्रर्धा हो तर टोपबहादुरसँग मात्रै होईन पुष्पकमल दाहाल आएपनि पाटीले आफुलाई टिकट दिएमा जित्ने दावी गरे । काग्रेस केन्द्रिय सदस्य पुष्पा भुसालले आफु प्रत्यक्षमै चुनाव लडने र टिकट पाउने दावी गर्दै २०६४ मा भन्दा यसपाली धेरै मत लिएर जित्ने दावी गरिन । अर्का केन्द्रिय सदस्य विकले १ बाटै प्रत्यक्षमा चुनाव लडने भन्दा पनि पाटीले जहा खटाउछ त्यही जाने दावी गरे ।
चुनावमा राप्रपा, राप्रपा नेपाल लगायतका सानादल पनि तयारीमा लागेका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।