देवेन्द्र भट्टराई, ईकन्तिपुर
एपेन्डिक्सको क्यान्सरबाट थलिएर १४ महिनादेखि रोहिणीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत सरकारी चिकित्सक डा.चित्रप्रसाद शर्मा वाग्ले आफ्नो उपचार असम्भव देखेपछि सोमबार घर फिरेका छन् ।
एक लाखमा एक जनालाई हुने कठीन रोग एपेन्डिक्स-क्यान्सरको उपचारमा अस्पताल भरमग्दुर लागेपनि १८ वटा किमोथेरापी पुरा भएपछि यसको ‘बैकल्पिक पद्धति’का लागि क्यानडा/अमेरिका जानुपर्ने भनेर तीन साताअघि डिस्चार्ज-लेटर दिइएको थियो । ‘तर अमेरिका/क्यानडा पनि परीक्षण औषधि प्रयोगका लागि मात्रै रहेको थाहा भयो,’ दिल्लीबाट काठमाडौं उड्नुअघि डा.वाग्लेले भने, ‘फेरि यो परीक्षण औषधीको प्याकेजमा ५ लाख डलर पर्ने भनेकाले यो हैसियतबाहिरको प्रयास हुने देखिएकाले म अब घर फिर्दैछु ।’
अर्घाखाँची जिल्लामा १२ बर्षभन्दा बढी सरकारी अस्पतालको प्रमुख भएर सेवा पुर्याएका वाग्लेले यो दुर्लभ रोगको उपचारमा आफ्नो भएभरको धन-सम्पत्ति सिध्याइसकेका छन् । मासिक ५ लाख रुपैयाँ खर्चेर उपचारमा लागेपनि निको हुने अवस्था नआएपछि उनी अस्पतालको सल्लाहमा घर फिरेका हुन् । वाग्लेले एउटा सरकारी कर्मचारीले पाउने ५ लाख रुपैयाँको उपचार खर्च भने नेपाल सरकारबाट लिएका छन् ।
रुसको उज्वेकिस्तानबाट एमबीबीएस ढजनरल फिजिसियन) गरेका वाग्लेले विश्व स्वास्थ्य संगठनको कोटामा बैंककमा एमडी गर्न गएका बेला डेढ बर्षअघि आफूमा क्यान्सर संक्रमण रहेको पत्तो पाएका थिए । रुपन्देही मुर्गियाका ४४ बषिर्य वाग्लेले उपचार क्रममा पैसा जुटाउन आफूसँग रहेका एक्सरे मेसिन, मेडिकल औजार समेत बिक्री गरिसकेका छन् ।
डा.वाग्लेले अर्घाखाँची सरकारी अस्पतालाई १५ बाट ३२ बेडमा बिस्तार गर्नेदेखि २४ घण्टै उपचार सेवा, आपतकालिन रक्त व्यवस्था, प्रश्रुति तथा शल्यक्रिया सेवा आदिको बिस्तार गरेका थिए । दुई ससाना छोरी र एक छोराका बाबु वाग्लेको उपचार असम्भव भन्दै राजीव गान्धी अस्पताले ‘डिस्चार्ज’ गरेको हो । यिनै छोराछोरीको पढाइका लागि भरथेग गर्न सामाजिक सञ्जालमार्फत सुरु भएको अभियानमा विश्वभरका हितैषी नेपालीले झण्डै १५ लाख रुपैयाँको सहयोग उठाइदिएकोमा उनी यो सत्प्रयाशप्रति पनि कृतज्ञ थिए ।
अब कुनै आश्रम वा गाउँले स्वास्थ्य चौकीमा बसेर सेवक काम गर्ने सोचाइ डा. वाग्लेमा पलाएको छ । भरतपुरको क्यान्सर अस्पतालमा किमो, रेडिएसेनको सुविधा रहेकाले देवघाट आसपासमा बसेर त्यहाँको बृद्धाश्रममा स्वास्थ्य सेवा पुर्याउने योजना उनले राखेका छन् ।
‘अहिले राजीव गान्धी क्यान्सर अस्पतालमा मात्रै झण्डै ५० नेपाली बिरामी थुपि्रएका छन्,’ डा.वाग्लेको भोगाइ र बुझाइ छ, ‘यीमध्ये अधिकांश नेपालमा डायग्नोसिस (परीक्षण) चित्तबुझ्दो नभएकाले यहाँ आएर सेवा कुरिरहेको अवस्थामा छन् ।’
उनका अनुसार स्वास्थ्य परीक्षण क्रममा राष्ट्रपति रामबरण यादव जापान गएर फिरेपछि मात्रै हालै ‘पेट स्क्यान’ (शरीर परीक्षण) गर्ने मेसिन भरतपुरस्थित क्यान्सर अस्पतालमा ल्याउन लागिएको छ । यसका लागि यो पालीको बजेटमा २५ करोड रुपैयाँ बजेट बिनियोजित छ ।
डा.वाग्ले आफ्नी जीवनसंगिनी पुजा पराजुली र ससुरा ज्ञानप्रसाद शर्माका साथमा सोमबार अपरान्ह काठमाडौं फिरिसकेका छन् । ‘नियमित स्वास्थ्य परीक्षण गरौं, म स्वयम चिकित्सक भएर पनि आफ्नै शरीरमा भएको रोगका बारे थाहा नपाइरहेको स्थितीमा रहेछु,’ बिमानस्थल जाने बेलामा डा.वाग्लेले सुनाए, ‘म आफैंले बेलैदेखि नियमित स्वास्थ्य परीक्षण गराएको भए आज यो अवस्था आउने थिएन ।’