नारायण शर्मा, ईकन्तिपुर
नवलपरासी – फोर्ब्स पत्रिकाको विश्वका अर्बपतिको सूचीमा रहेका उद्योगपति विनोद चौधरी नवलपरासीवाट प्रत्यक्षतर्फ निर्वाचन लड्ने चर्चाले यहाँको राजनीतिक माहौल एकाएक तातेको छ ।
एमालेवाट निर्वाचन लड्ने चौधरीको माहौल बनाउन उनको दलका कार्यकर्ताहरु लागेका छन् । त्यसले अन्य राजनैतिक दलका नेताहरुलाई पनि राजनैतिक जोडघटाउमा लाग्न बाध्य बनाएको छ ।
पहिलो संबिधान सभा निर्वाचनमा एमालेवाट समानुपातिक तर्फका सभासद विनोद चौधरीको प्रत्यक्ष निर्वाचनमा लड्ने संकेतले उनकै दलका केहि जिल्ला नेताहरु आफ्नो सिट सुरक्षित पार्न हिसाबकिताबमा ब्यस्त छन् । अन्य दलका जिल्ला नेताहरुपनि उनी लड्ने निर्वाचन क्षेत्रको आंकलनमा आफ्नो पार्टीको सम्भावित परिणामको समिक्षामा छन् ।
नेपालको चर्चित औद्योगिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी एकाएक राजनीतिमा हामफालेपछि त्यसले जिल्ला भरीको राजनैतिक र चुनावी माहौल तातेको छ ।
६ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा गत संविधान सभा निर्वाचनमा एमाले सबै स्थानमा हार ब्यहोरेको थियो । एउटा पनि निर्वाचन क्षेत्र जित्न नसकेको एमालेका लागि विनोद चौधरीको प्रत्यक्षतर्फ दिने उम्मेदवारीका लागि उसले सबै शक्ति प्रयोग गर्ने भएको छ ।
उनी सभासद् हुँदा पाएको सम्पूर्ण तलब सुविधामा आफ्नो ब्यक्तिगत १० गुना बढि नगद थपेर नवलपरासीको एकीकृत विकासमा खर्च गरेका कारण चर्चामा रहेका चौधरीले लड्ने निर्वाचन क्षेत्र नं कुन हुने भन्ने बिषय पनि यतिखेर चर्चामा छ । उनी समानुपातिकबाट सभासद् हुँदा पाएको सबै तलब बिकासमा खर्च गरेका हुन् ।
चौधरीको लगानी रहेको चौधरी उद्योग ग्राम नवलपरासीको क्षेत्र नं १ मा पर्दछ । नवलपरासी क्षेत्र नं १ गत दुई दशकदेखि कांग्रेसको कब्जामा रहेको छ । गत २०४८ साल यताको सबै निर्वाचनमा कांग्रसले कब्जा जमाएको त्यस स्थानमा कोइराला परिवारका बिरासत डा सशांक कोइरालाको निर्वाचन क्षेत्र हो ।
एमालेका केहि शक्तिहरु उनलाई क्षेत्र नं १ वाटै लडाएर कांग्रेसलाई सोझै टक्कर दिन पर्ने मनस्थितिमा उभिएका छन् ।
तर चौधरीका विश्वासिला र निकटतमहरु भने तुलनात्मक रुपमा बलियो रहेको नवलपरासीको क्षेत्र नं ३ वाट निर्वाचन लडाउनु पर्ने अडानमा छन् । नवलपरासी क्षेत्र नं ३ एमालेको बलियो क्षेत्र मानिन्छ । त्यो क्षेत्रबाट गत निर्वाचनमा एमाओवादीकी सिता बौडेलले जितेकी थिइन् ।
निवाचन क्षेत्र नं ३ त्यस्तो क्षेत्र हो जहाँ एमाओवादी, नेपाली कांग्रेस र एमालेले अन्यत्र बसोबास भएका उम्मेदवारलाई त्यहाँबाट निर्वाचनमा लडाएका थिए । त्यहा यसपटक पनि त्यस्तै अबस्था छ । ती तीनवटै दलले त्यहावाट स्थानिय उम्मेद्वारलाई सभासदमा लडाउन सकेका छैनन् ।
पार्टीभित्रको आन्तरिक कुनै गुटमा पनि नदेखिएका चौधरीलाई जिल्लाका सबै नेता कार्यकर्ताले सहयोग गर्ने अबस्था रहेकाले उनी एमालेका सबै भन्दा बलिया उम्मेदवार रहेको चर्चा पार्टीमा छ ।
एमाले जिल्ला अध्यक्ष तिलक महतले विनोद चौधरीलाई पार्टीले प्रत्यक्षमा लडाउन सक्ने संकेत गरे । एकपटक सभासद भइसकेको र पार्टीका इमान्दार सिपाही भएकाले उनलाई कतै निर्वाचनमा उठाउन सक्ने अवस्था रहेको उनले बताए ।
समानुपातिकतर्फ सभासद् भैसकेका चौधरीलाई एक पटक प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु पर्ने भन्दै उनी निकटकाहरुलागेका छन् । क्षेत्र नं ३ का दक्षिणी केहि गाविसमा चौधरी समुदायका बासिन्दाहरुको बसोबास र प्रभाव रहेको छ ।
नवलपरासीको दुर्गममा वायरलेश इन्टरनेट सेवाको बिस्तार, कावासोतीमा रहेको समता शिक्षा निकेतनमा लगानी, स्वास्थ्य र शिक्षामा चौधरी उद्योग प्रतिष्ठानको लगानीका कारण उनको माग बढेको एमाले नेताहरुको बिश्लेषण रहेको छ । एमालेवाट सांसद जितेका मझिलाल थारु थनेत संघीय समाजवादीमा प्रबेश गरेका छन् । त्यसयता नवलपरासीका ६ वटै स्थानमा एमालेले हार ब्यहोर्दै आएको छ ।
सबै निर्वाचन क्षेत्रवाट पराजय भोग्दै आएको एमालेले जुनसुकै रणनिति अपनाएर पनि एक, दुई सिटमा विजय हासिल गर्नुपर्ने अडानमा कार्यकर्ताहरु रहेका छन् ।