आज बेपत्ताविरुद्धको ३० औं अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज बेपत्ताविरुद्धको ३० औं अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा प्रत्येक वर्ष ३० अगस्टका दिन बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ ।


यो दिवस मनाउने क्रमको सुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट भएको हो । अन्तर्राष्ट्रिय रुपमा कार्यरत मानवअधिकार संस्था वा अन्तर्राष्ट्रिय निकायहरुले बेपत्ता पारिने कार्यविरुद्ध अभियानहरु सञ्चालन गर्दै आएका छन् ।


नेपालमा संयुक्त राष्ट्रसंघ, एम्नेस्टी इन्टरनेशनल, रेडक्रसको अन्तर्राष्ट्रिय समिति तथा देशभित्र राष्ट्रिय मानवअधिकार आयोगलगायतका संस्थाले यस सम्बन्धी काम गर्दै आएका छन् । नेपालमा विगतमा भएको एक दशक लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र नेपाल कम्युनिस्ट पार्टी माओवादीले नागरिक बेपत्ता पारेका थिए । ती मध्ये सयौं अझै वेपत्ता छन् ।


रेडक्रसको अन्तर्राष्ट्रिय समितिका अनुसार द्वन्द्वकाबेला दुवै पक्षद्वारा नियन्त्रणमा लिएकामध्ये १ हजार ३ सय ५० भन्दा बढी नागरिक अझै बेपत्ता छन् । द्वन्द्वका दुबै पक्षबाट भएका वेपत्तालगायत गैरन्यायिक हत्या, यातना, यौनजन्य हिंसा जस्ता घटना राजनीतिक प्रकृतिका नभएर अन्तर्राष्ट्रिय मानवअधिकार एवं मानवीय कानून अनुसार मानवअधिकार उल्लंघन र ज्यादतीका हुन् ।


तर, यस्ता आपराधिक घटनाका दोषीलाई कानूनी कारवाही र पीडितलाई न्याय सुनिश्चित गर्न सकिएको छैन । अपराधीलाई दण्डित नगर्दा देशमा दण्डहीनता मौलाएको छ भने नागरिकमा राज्य र कानूनप्रति नै विश्वास हराउन थालेको अवस्था छ । पीडित र तिनका परिवारहरु अहिले पनि आफन्तको खवर पाउने वा न्याय प्राप्तिको प्रतीक्षामा छन् ।


सरकार र राजनीतिक दलहरु भने न्याय सुनिश्चित गर्न उदासीन देखिएका छन् । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा वेपत्ता पारिएका र युद्धको समयमा मारिएकाहरुको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने भनिएपनि सात वर्ष पुग्दा पनि यसतर्फ सरकार र माओवादी दुबैले चासो दिएका छैनन् ।

 

RSS, IMAGECHANNEL