काठमाडौं । सरकारले नेपाल विद्युत प्राधीकरणको कार्यकारी निर्देशकमा अर्जुनकुमार कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले जल तथा ऊर्जा आयोगका सहसचिव कार्कीलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशकसमेत उच्च अधिकारीहरुलाई पक्राउ गरी कारवाही गरेपछि प्राधिकरणको दैनिक कार्य सञ्चालन समेत प्रभावित भएको अवस्थामा कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको हो ।
यसैगरी, निर्वाचन क्षेत्र निर्धारण आयोगले गत साउन २४ गते सरकारलाई बुझाएको निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाउने र राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।
यस्तै, नेपाल अन्तर्राष्ट्रिय गुणस्तर संगठनको सदस्य बन्ने निर्णय गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यसैगरी बैठकले नेपाली सेनामा केहीको बढुवा र केहीको सरुवा गरेको छ । विदेशमा हुने विभिन्न कार्यक्रममा भाग लिन जानेहरुको भ्रमण पनि स्वीकृत गरिएको छ । अख्तियारका लागि केही कर्मचारी खटाउने निर्णय पनि गरिएको छ ।
RSS