फेरि संविधानसभा ६०१ सदस्यीय बनाउने सहमती, नेकपा-माओवादी चुनावमा आउन सकारात्मक

काठमाडौं – उच्चस्तरीय राजनीतिक समितिले नेकपा- माओवादी र संघीय समाजवादी पार्टीलाई निर्वाचन प्रक्रियामा ल्याउन आगामी संविधानसभा सदस्यको संख्या पनि ६ सय १ नै बनाउने सैद्धान्तिक सहमती गरेको छ । यसअघि ६ सय १ मा जान नहुने अडान राखेको एमालेले मंगलबारको बैठकमा भने सहमति जनाएको थियो । एमालेले केन्द्रीय समितिको बैठकबाटै अशोक राई नेतृत्वमा रहेको समाजवादी पार्टी निर्वाचनमा आउने भए ६ सय १ मा जान सकिने निर्णय गरेको जानकारी बैठकमा गराएको थियो ।


यसअघि समितिले उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग संविधानसभाको संख्या ५ सय ८५ पुर्‍याउने सहमति गरेको थियो । तर संघीय समाजवादी पार्टीले ६ सय १ मा जानुपर्ने अडान राख्दै आएको थियो । एमाओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार समितिमा भएको सहमतीबारे यादव नेतृत्वको मोर्चासँगको छलफलपछि समाजवादीसंग औपचारिक वार्ता गरिने भएको छ ।


बैठकले नेकपा-माओवादीसँग पनि अनौपचारिक वार्ता गरेर दुई दिनभित्र निर्वाचन प्रक्रियामा ल्याउन अन्तिम प्रयास गरिने निर्णय गरेको छ । समिति संयोजक समेत रहेका कांग्रेस सभापति सुशीले कोइरालाले नेकपा-माओवादीसँगको अनौपचारिक छलफलमा उनीहरु निर्वाचनमा आउन सकारात्मक रहेको आफूले पाएको बताएका थिए । कोइरालाले केही दिनदेखि नेकपा-माओवादीलाई निर्वाचन प्रक्रियामा ल्याउन अनौपचारिक तहमा छलफल गर्दै आएका छन ।

 

 ‘समिति संयोजकले अनौपचारिक तहमा एक/दुई दिनभित्र प्रभावकारी पहल गर्ने कुरा भएको छ,’ बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘दुई/तीन दिनभित्र अन्तिम कुराकानी हुन्छ ।’ अनौपचारिक कुराकानीपछि  नेकपा- माओवादीसंग समितिको औपचारिक बैठक बस्ने उनले जानकारी दिए ।


 समितिले मंसिर ४ को निर्वाचन र सरकार परिवर्तनको विषयलाई भने मान्न नसकिने अडान राखेको छ । ‘यो बाहेकक विषयमा लचिलो भएर अनौपचारिक तहमा कुराकानी गर्ने र त्यसपछि औपचारिक छलफल गर्ने कुराकानी भएको छ,’ एमाले नेता रघुजीपन्तले भने, ‘दुई/तीन दिनभित्र प्रभावकारी पहल थाल्ने कुराकानी भएको छ ।’


 यसैबीच कांग्रेस सभापति कोइरालाले मंगलबार नै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर निर्वाचनको तयारीकाको बारेमा जानकारी लिएका छन । उनले मुलुक निर्वाचनमा होमिसकेको अवस्थामा त्यहीअनुरुप तयारी थाल्न सरकारलाई सुझाव दिएका छन् । -Ekantipur