सबैले वेवास्ता गरेपछि नेपाल सद्‍भावना पार्टीकी सरिता गिरीले अन्सन तोडिन्

काठमाडौं- नेपाल सद्‍भावना पार्टीकी अध्यक्ष सरिता गिरीले २२ औं दिन आमरण अनसन तोडेकी छिन्। रत्नपार्कस्थित शान्तिवाटिकामा अनसन वसेकी गिरीले आफनो मागप्रति सरकार र उच्चस्तरीय राजनीतिक समितिले वेवास्ता गरेको भन्दै वाध्य भएर अनसन तोडेको बताएकी छिन्। आफनै पार्टीका उपाध्यक्ष रामवरण यादवको हातवाट जुस पिएर गिरीले अनसन तोडेकी हुन्।
 
गिरीले समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने, मधेशमा निर्वाचन क्षेत्र थप गर्नुपर्ने, संविधानसभामा महिलाको ३३ प्रतिशत सहभागितालाई सुनिश्चित गर्नुपर्ने, उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग भएको सम्झौता खारेज हुनुपर्ने, विदेशमा वसेकालाई मताधिकारको व्यवस्था गर्नुपर्ने लगायतका माग राखी अनसनमा वसेकी थिइन्। अनसनसँगै उनको पार्टीले मधेशका विभिन्न जिल्लामा आन्दोलन पनि गर्दै आएको थियो।


पार्टीले राखेका मागलाई सरकार र उच्चस्तरीय राजनीतिक समितिले वास्ता नगरेपछि अध्यक्ष गिरीले अनसन तोडेपनि आन्दोलनका अन्य कार्यक्रम चाहिं यथावत नै रहने पार्टीले जनाएको छ। पार्टी प्रवत्ता गोविन्दा साहले आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका छन्।

NAGARIKNEWS