अमेरिका । अमेरिकामा सीनेटको एक समितिले सिरियामाथि सैन्य हस्तक्षेप गर्न सरकारलाई अनुमति दिएको छ । आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरेको भन्दै समितिले सैन्य हस्तक्षेपको राष्ट्रपति बराक ओबामाको योजनामा सहमति दिएको हो । सीनेटको विदेशमामिला हेर्ने समितिमा सातको विरुद्ध दश मतले यो प्रस्ताव पारित भएको हो ।
तर पूर्ण अनुमतिका लागि अब यो प्रस्ताव सीनेट जानुपर्ने हुन्छ । सिरियामाथि सैन्य कारवाही गर्न राष्ट्रपति ओबामा समर्थन खोजिरहेका बेला समितिले यो निर्णय गरेको हो । सिरियामाथि सीमित कार्वाही गरिने र अमेरिकी सेना जमीनमा नउतारिने पनि ओबामा प्रशासनको तयारी छ ।
राष्ट्रपति ओबामाले यो प्रस्ताव कांग्रेसबाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । आउँदो हप्ता सीनेटमा यसबारे मतदान हुने बताइएको छ । अमेरिकाका साथै बेलायत र फ्रान्स सिरियामा सैन्य हस्तक्षेपबाटै समाधान खोज्नुपर्ने पक्षमा छन् भने सिरियाका निकट मानिने रुस र चीन हस्तक्षेपको विरोधमा छन् ।
२१ अगष्टमा राजधानी दमस्कसबाहिर सिरियाली राष्ट्रपति बहार अल असादको सत्ताले विपक्षीविरुद्ध रासायनिक हतियार प्रयोग गरेको आरोप पश्चिमा राष्ट्रको छ । उता स्वीडेन पुग्नु भएका अमेरिकी राष्ट्रपति ओबामाले आफ्ना नागरिकविरुद्ध असदले नै रासायनिक हतियार प्रयोग गरेको पूर्ण प्रमाण फेला परेको दावी गर्नुभएको छ ।
Agencies