पाँच पूर्व प्रधानमन्त्रीहरुद्धारा आर्थिक विकासका लागि राजनीतिक प्रतिबद्धता जनाउँदै आर्थिक विकासको दश वर्षे मार्गचित्रमा हस्ताक्षर

वीरगञ्ज । पाँच पूर्व प्रधानमन्त्रीहरुले आर्थिक विकासका लागि राजनीतिक प्रतिबद्धता जनाउँदै आर्थिक विकासको दश वर्षे मार्गचित्रमा हस्ताक्षर गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आज वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा उनीहरुले आर्थिक क्रान्तिको १० वर्षे मार्गचित्र भिजन २०८० को १२ बुँदे घोषणापत्रमा हस्ताक्षर समेत गरेका छन् ।


यसरी हस्ताक्षर गर्ने पूर्व प्रधानमन्त्रीहरुमा पुष्पकमल दाहाल, शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराई रहेका छन् । बाह्र बुँदे राजनीतिक सम्झौता दिल्लीबाट अघि बढेको भन्दै नेताहरुले देशको आर्थिक विकासका लागि पनि संयुक्त रुपमै अघि बढ्ने बताए ।


कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्रान्तिको पहिलो आधार कृषि हुनुपर्ने भन्दै उद्योगहरु पनि कृषिमै आधारित हुनुपर्नेमा जोड दिए ।


त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता देउवाले उद्योग सञ्चालनका लागि विद्युत आवश्यक पर्ने भन्दै जलश्रोतको विकासमा जोड दिए ।


त्यस्तै नेकपा एमालेका अध्यक्ष खनालले आर्थिक जग बिना जतिसुकै ठूलो परिवर्तन पनि संस्थागत गर्न नसकिने बताए ।


त्यसैगरी अर्का एमाले नेता माधव कुमार नेपालले सरकार कर मात्र हेर्ने, नीजि क्षेत्रले क्षणिक लाभ हेर्ने र श्रमिकले माग मात्रै अघि सार्ने गर्दा मुलुकमा लगानीको वातावरण बिग्रिएको बताए ।


त्यस्तै एमाओवादी नेता बाबुराम भट्टराईले आर्थिक क्रान्तिलाई सफल पार्न राजनीतिक स्थिरता र दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध हुनुपर्ने बताए ।

 

RSS, IMAGECHHANEL