राजस्व अनुसन्धान विभागले कर छलेको शंकामा वरिष्ठ अधिवक्ता शम्भू थापा सहित आधा दर्जन व्यवसायिक फर्ममा छापा

काठमाडौं – राजस्व अनुसन्धान विभागले कर छलेको शंकामा ६ वटा व्यवसायिक फर्ममा छापा मारेको छ। विभागबाट खटिएको टोलीले दुई ल फर्म, दुई इन्जिनियरिङ कन्सल्ट्यान्सी, एक चार्टर्ड अकाउन्टेन्ड कन्ल्ट्यान्सी र एउटा डाक्टरको क्लिनकमा छापा मारेको हो।
विभागका महानिर्देशक खुमराज पुम्जालीले आयकर लगायतका करहरु छलेको शंकामा ती फर्महरुमा छापा मारिएको  बताए। कम्प्युटर लगायत सबै खातापाता नियन्त्रणमा लिइएको उनले जानकारी दिए। उनले भने, ‘नियन्त्रणमा लिइएका सबै कागजातको अनुसन्धानपछि कर छले-नछलेको यथार्थ खुल्नेछ।’
राजस्वले पूर्व बार अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भू थापाको लिगल एडभाजर्स ल फर्ममा समेत छापा मारेको छ। राजस्वले छापा मारेको विषय गैरकानुनी भएको टिप्पणी थापाले गरेका छन्। ‘खिलराज रेग्मी र लोकमानको मिलेमतोमा म माथि षडयन्त्र भयो’, थापाले नागरिकन्युजसँग भने- ‘ल फर्मका सबै कुरा गोप्य हुने हुँदा यसरी छापा मार्नु नेपालको अन्तरिम संविधान विपरित हो।’
लामो समयदेखि डाक्टर, इन्जिनियर, वकिल लगायतका पेशाकर्मीले वार्षिक लाखौंको आम्दानी गरे पनि सरकारलाई कर नतिरेको आरोप लाग्दै आएको सन्दर्भमा राजस्वले पेशाकर्मीका फर्ममा छापा मारेको हो। सरकारले प्रत्येक वर्ष बजेटमार्फत् पेशाकर्मीलाई करको दायरामा समेट्ने बताउँदै आए पनि सबै समेटिन सकेका थिएनन्।
– RSS , NAGARIKNEWS