बन्दको विरुद्धमा महिलाहरु नै ठाउँठाउँमा उत्रिएपछि एकीकृत माओवादीको बन्द फिर्ता, गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी पक्राउ

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी रामप्रसाद अधिकारीलाई पक्राउ गरेको विरोधमा एकिकृत नेकपा माओवादीले मध्यरातमा आव्हान गरेको बन्द फिर्ता लिएको छ।

 

द्वन्द्वकालको घटना ब्युताउन खोजेको भन्दै एकीकृत माओवादीले मध्याह्नसम्म काठमाडौं, चितवन र गोरखा तीन जिल्ला बन्द गराए । बन्दको विरुद्धमा महिलाहरु नै ठाउँठाउँमा उत्रिएपछि माओवादीले दिउँसो १२ बजेदेखि बन्द फिर्ता लिएको छ । माओवादी नेता अग्नी सापकोटाले महिलाहरुको चाडलाई हेरेर बन्द खुलाइएको जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराईले धनगढीबाटै आदेश दिएअनुसार विहानैदेखि बन्द गर्न कार्यकर्ता सडकमा उत्रिएका थिए । एक्कासी बिहानै बन्दमा उत्रँदा सर्वसाधारण मारमा परेका थिए । राजधानी काठमाडौंसहित चितवन र गोरखा जिल्लामा गाडी सञ्चालनमा अवरोध गरिएको थियो ।


 बन्दका कारण तीजका लागि विभिन्न स्थानमा जानुपर्ने महिलाहरु बढी मारमा परे । चाडबाडका दिन बन्द गराएको भन्दै काठमाडौंको कलंकीलगायत स्थानमा महिलाहरु विरोधमासमेत उत्रिए । आफ्ना अपराधी कार्यकर्ता जोगाउने नाममा सर्वसाधारण माथि बिना कारण बन्द थोपरिएको भन्दै महिलाहरु चोकचोकबाट विरोधमा उत्रेका हुन् ।


 विरोधमा उत्रने महिलाहरुमाथि माओवादी कार्यकर्ता जाइ लागेका थिए । त्यसक्रममा प्रहरीले हस्तक्षेपसमेत गर्नुप-यो । पक्राउ गरिएका कार्यकर्तालाई विना शर्त छाड्नुपर्ने माओवादीको माग छ । कृष्णप्रसाद अधिकारीको हत्या द्वन्द्वका समयमा गरिएकाले प्रहरीले अहिले पक्रने नहुने तर्क माओवादीको छ ।

 

RSS