माले । माल्दिभ्समा हिजो सम्पन्न राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेद्वारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । निर्वाचनमा पूर्व राष्ट्रपति मोहम्मद नाशिदले ४५ प्रतिशत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति मोहम्मद वाहिद हसनले २५ प्रतिशत मत मात्र प्राप्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
माल्दिभ्समा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ । दोस्रो चरणको निर्वाचन सेप्टेम्बर २८ तारिखमा हुने जनाइएको छ ।
१८ महिना अघि मोहम्मद नाशिदलाई सुरक्षाकर्मीले बलजफ्ती राजीनामा गर्न बाध्य पारेपछि हिजो नयाँ राष्ट्रपतिका लागि मतदान भएको थियो । सन् २००८ को निर्वाचनपछि माल्दिभ्समा नाशिद प्रजातान्त्रिक रुपमा पहिलो राष्ट्रपति बनेका थिए ।
तर, सन् २०१२ को फेब्रुवरीमा नाशिदलाई सत्ताबाट हटाइपछि त्यतिबेला उपराष्ट्रपति रहेका वाहिद हसन राष्ट्रपति बनेका थिए ।