सिरियाले रासायनिक हतियार सुम्पिए अमेरिकी सैन्य कारवाही रोक्न सक्ने

अमेरिका  । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाले सञ्चित गरेर राखेका रासायनिक हतियार अन्तर्राष्ट्रिय नियन्त्रणमा सुम्पिए अमेरिकी सैन्य कारवाहीको योजना रोक्न सक्ने बताएका छन् । तर सिरियाली सरकार त्यस्तो नियन्त्रणभित्र रहन्छ भन्नेमा सन्देह रहेको ओबामाको भनाई छ । 
अमेरिकी राष्ट्रपति ओबामाले मध्यपूर्वमा नयाँ सैन्य कारवाहीको सम्बन्धमा समर्थन जुटाउन अमेरिकी कँंग्रेस र अमेरिकी नागरिकको चिन्तालाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न अमेरिकी टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा यस्तो बताएका हुन् । 
अन्तवार्ताको क्रममा उहाँले सिरियाली सरकारलाई फेरि पनि रासायनिक हतियार प्रयोग गर्नबाट रोक्न सीमित कारवाही जरुरी रहेकोमा पनि जोड दिनुभयो । अमेरिकी तल्लो सदन प्रतिनिधि सभाका ४ सय ३३ सदस्य मध्ये २ सय ३० भन्दा बढी सदस्य सिरियामाथि सैन्य कारवाही गर्न नहुने पक्षमा छन् । 
अमेरिकी कँंग्रेसमा सिरियामाथि सम्भावित सैन्य कारवाहीका सम्बन्धमा ओबामालाई अधिकार दिने/नदिनेबारे छलफल शुरु हुन लागेकै बेला बेला रुसले भने सिरियालाई रासायनिक हतियार नष्ट गर्न आग्रह गरेको छ । रुसले अमेरिकी सैन्य कारवाही रोक्न अन्तर्राष्ट्रिय नियन्त्रणलाई हतियार सुम्पन र त्यसलाई नष्ट गर्न आग्रह गरेको हो । 
अमेरिकाले सिरिया सरकारमाथि युद्ध अपराध र रासायनिक हतियार प्रयोग गरेको आरोप लगाए पनि सिरियाली राष्ट्रपति बशार अल असादले भने त्यसलाई अस्वीकार गर्दै आउनु भएको छ ।
Agencies