मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसङ्घको भ्रमणलाई पाँच दिनमा सीमित

काठमाडौं – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसङ्घको ६८औं महासभामा सानो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छोटो समयका लागि आगामी असोज १० गते न्यूयोर्क जाने भएका छन्। 
संविधान सभा निर्वाचनको तयारीमा मुलुक जुटेका बेला लामो समय सरकार प्रमुख विदेश यात्रामा निस्कनु उपयुक्त नहुने ठहर गर्दै अध्यक्ष रेग्मीले अमेरिका भ्रमणलाई पाँच दिनमा सीमित गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले राससलाई बताए।
सरकारले आफ्नो सम्पूर्ण ध्यान संविधानसभा निर्वाचनमा केन्द्रित गरेकाले सुरक्षा व्यवस्थापनलगायत अन्य दैनिक कार्य सञ्चालन सहजरुपमा सम्पादन गर्न परराष्ट्र एवम् गृहमन्त्री माधवप्रसाद घिमिरे महासभामा सहभागी नहुने निष्कर्षमा पुगेको जानकारी पनि प्रवक्ता धितालले दिए।